टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

अन्तराष्ट्रिय

अंकारा, ४ फागुन । भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । अघिल्लो सोमबार (फेब्रुअरी ६) गएको विनाशकारी भूकम्पमा परी टर्कीमा मात्र ३५ हजार ४१८ जनाको मृत्यु भएको त्यहाँका अधिकारीले बताएको समाचार एजेन्सी अलजजिराले जनाएको छ ।

अलजजिराका अनुसार सिरियामा पाँच हजार ८०० भन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले टर्कीमा गएको भूकम्पलाई एक शताब्दीको सबैभन्दा खराब प्राकृतिक प्रकोपका रूपमा वर्णन गरेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट आठ हजारभन्दा बढी मानिसलाई जिउँदै निकालिएको बताएका छन् । भूकम्पपछि सिरियामा ५३ लाख मानिस घरबारविहीन हुन सक्ने राष्ट्रसंघको अनुमान छ ।

बीबीसीका अनुसार उक्त भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । विभिन्न १० प्रान्तका सहर बढी प्रभावित भएका हुन् ।

स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो ।

सोही सोमबार दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार