ओली निश्किए लगत्तै बालुवाटारमा पुराना सत्ता गठबन्धनको बैठक

banner

काठमाडौं, १२ फागुन । राष्ट्रिपतिको विषयमा छलफल गर्न पुरानो गठबन्धनको बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरू भएको ।

बैठकमा माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल आइसकेका छन् ।

कांग्रेस, माओवादी, नेकपा एस, जसपा, जनमत, लोसपाका अन्य नेता पनि सहभागी हुँदैछन्। अहिलेको बैठकले राष्ट्रपतिमा ठोस निर्णय गरेर एकैठाउँमा उभिने निर्णय गर्ने बिहानको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले बताएका थिए ।

बिहान बसेको कांग्रेस, माओवादी, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । त्यही विषयलाई मूर्तरूप दिनको लागि अहिले बैठक बसेको हो ।

एमालेले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको नाममा एमालेलाई राष्ट्रपति दिन नचाहेका हुन् ।

पुरानो गठबन्धनमा पनि कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल आकांक्षी छन् । माधव नेपाललाई पछि एक वर्ष प्रधानमन्त्री बन्न कांग्रेसले प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार