१४ किलो सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनका सल्लाहकारको राहदानी कालोसूचीमा राख्न पत्र

banner

काठमाडौं, १८ पुस । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न भएको तथ्य फmो परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले यो तथ्य फेला पारेको हो ।

गत मंसिर २१ गते राति फ्लाई दुबईको विमानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुनका विषयमा कार्यालयले अनुसन्धान गर्दा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङले तस्करहरुसँग नियमित संवाद गर्ने गरेको पाइएको हो ।

भन्सार विभाग स्रोतका अनुसार पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनसँग निकट गुरुङ लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको आधार फेलापरेको छ । तस्कारीमा गुरुङ संलग्न रहेको आधार भेटिएपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भन्सार बिभागले थप अनुसन्धानका लागि उनीबिरुद्ध काठमाडौं जिल्ला अदालतबाट प्रक्राउ पुर्जी लिएको हो ।

पर्वत निवासी गुरुङलाई प्रक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ । तर, उनी फरार रहेको प्रहरीले जनाएको छ । भन्सार कार्यालयले गुरुङको राहदानी कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्रसमेत पठाएको छ ।

‘२०८० मंसिर २१ गते गते फ्लाई दुवईको उडान नम्बर एफजेड ५७३ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका गोरखाको बारपाक स्थायी ठेगाना भएका चन्द्र घलेको साथबाट बरामद भएको १४ केजी अवैध सुनका विषयमा अनुसन्धान हुँदा चोरी पैठारीमा संलग्न रहेको देखिएका व्यक्तिहरुले दिएको बयानबाट पर्वत जिल्ला साविक फलामखानी २ स्थायी ठेगाना तथा हाल काठमाडौ बसोवास गर्ने रामबहादुर गुरुङका छोरा वर्ष ६२ को नाप्रनं ८७ र राहदानी नम्बर ०९८३०९४१ रहेका जीवन कुमार गुरुङको खोजतलास गर्दा निज फरार रहेको र देश छोडि भागि जान सक्ने हुनाले तहाँ विभाग तथा मातहत कार्यालयहरु सबैमा जानकारी गराई निजको राहदानी र नागरिकता समेत कालोसूचीमा राखि पक्राउ गर्न सहयोग गरिदिनुहुन अनुरोध छ,’ भन्सार कार्यालयले पुस ८ गते अध्यागमन विभागलाई पत्र लेख्दै भनेको छ ।

भन्सार कार्यालय स्रोतका अनुसार तस्करीमा पक्राउ परी हिरासतमा रहेको मीन घले र जीवन गुरूङबीच नियमित संवाद भएको भेटिएपछि गुरुङको विषयमा अनुसन्धान अघि बढाइएको हो ।

१४ केजी सुनसहित प्रक्राउ परेको चन्द्र घलेको बयानका आधारमा भन्सार कार्यालयले मिन घलेलाई प्रक्राउ गरेको थियो । मिन घले पक्राउ परेपछि गुरुङ फरार छन । पक्राउपरेका घलेले बयानमा क्रममा जीवन गुरुङ पूर्वउपराष्ट्रपति पुनको सल्लाहकार भइसकेको र गुरुङले नै काठमाडौंमा जम्मा हुने सुन सीमावर्ती क्षेत्रमा पुर्याउने गरेको बताएका छन ।

गुरुङ काठमाडौंको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका कार्यकारी अध्यक्षसमेत हुन । घलेले गुरुङसँग नियमित कुरा गरेको पाइएपछि विभागले टोली कालिकास्थानमा रहेको प्लाटिनम कलेजमा समेत पुगेको थियो । कलेजका कर्मचारीले गुरुङ पर्वत जाने भन्दै बिदामा बसेको जानकारी दिएका थिए ।

बिभागले १४ किलो सुन तस्करी प्रकरणमा गुरुङसहित विमल पोद्दार, अंकित अग्रवाल, राजेन्द्र बस्नेत र राज कामर भारतीमाथि थप अनुसन्धान अघि बढाएको छ । कार्यालयले भविष्यमा सुन तस्करीमा संलग्न भएको प्रमाण भेटिएमा थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयबाट अनुमति माग गरेको थियो ।

सोमबार सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम अनुसन्धान गर्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई अनुमति दिएको छ ।

बिभाग स्रोतका अनुसार गुरुङ, विमल पोद्दार लगायतलाई सुन तस्कारी गर्न दिपेश पुनले सहयोग गरिरहेका छन् भन्ने आधारसहितका सूचना आएको छ । भन्सार कार्यालयको हिरासतमा रहेको मिन घलेले चिनियाँ नागरिक दाओजिङ वाङलाई आफूले पनि चिन्ने र जीवन गुरुङले उनीसँग परिचय गराएको बयान दिएका छन् ।

हाल कार्यालयले १४ केजी सुन प्रकरणमा रंगेहात प्रक्राउ परेका चन्द्र घलेले दिएको बयान र सीसीटीभी फुटेज विश्लेषण गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका ६ तहका अधिकृत राधा कृष्ण श्रेष्ठ, प्राधिकरणबाट सेवा निवृत भई करारमा कार्यरत रहेका रमेश देउला र प्राधिकरणका कार्यालय सहयोगी लेक बहादुर तामाङलाई प्रक्राउ गरी मुद्दा दायर गरेको छ ।

यस्तै, प्राधिकरणले करारमा राखेका अनिल श्रेष्ठ, विमानस्थल कार्यालयमा सुनगाभा जेभीको तर्फबाट पल्म्बर काम गर्ने शेरबहादुर बस्नेतलाई समेत प्रक्राउ गरि मुद्दा दायर गरेको छ ।

चन्द्र घलेले दिएको बयानका आधारमा मिनबहादुर घले र सीसीटीभी फुटेज अनुसन्धान गर्दा कृष्णकुमार श्रेष्ठलाई प्रक्राउ गर्दै मुद्दा दायर भएको छ । बयानका क्रममा कृष्णकुमार श्रेष्ठले दुबईबाट १४ किलोको दरले ७ पटक सुन ल्याएको बयान दिएका छन् । दुबईबाट सुन पठाउने भनिएका अंकित अग्रवालले कृष्णलाई ह्वाटस् एपमा म्यासेज र टिकट पठाउने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार