एमाले कार्यकर्तामा छैन उत्साह

banner

काठमाडौं, २४ फागुन । एमाले मुख्यालय च्यासलमा समूह–समूह बनाएर बसेका सो पार्टीका कार्यकतामा नयाँ गठबन्धनप्रति निरासा व्यक्त गरेको पाइएको छ । पार्टी कार्यालयमाजस्तै निरासा समाजिक सञ्जालमा पनि छरपष्ट छन् ।

च्यासल हाताभित्रको खाजाघर बाहिर चारजनाको समूह बनाएर बसेका एक कार्यकता भन्दै थिए ‘अध्यक्ष कमरेडले के गर्नु भएको होला ?’ अर्काले जवाफ दिए ‘अध्यक्ष कमरेडले अर्कै थोक सोच्नु भएको हुन सक्छ । पछिको लागि ।’

सामाजिक सञ्जालमा पनि एमाले कार्यकर्ता उत्साहितभन्दा निरासा देखिएको स्पष्ट छ । माओवादीसंगको गठबन्धनभन्दा कांग्रेससंगको सहकार्य भएको भए अलि भरपर्दो हुन्थ्यो । सरकार पूरा कार्यकाल चल्न सक्थ्यो भन्ने आम कार्यकर्ताको धारणा छ । प्रचण्डसंगको गठबन्धनमै निरुत्साहित देखिएका कार्यकर्तालाई मन्त्रालय भागबण्डाले थप निरास बनाएको छ ।

मन्त्रालय बाँडफाँडमा एमालेको भागमा तल्लो क्रमका मन्त्रालय परेका छन् । एउटा भौतिक पूर्वाधार मन्त्रालय बाहेक अन्य ७ मन्त्रालय तल्लो श्रेणीका मानिन्छन् । प्रधानमन्त्रीलगायत सबै ‘क’ श्रेणीका मन्त्रालय माओवादी स्वयंले राखेको छ । त्यसपछि जनतासंग प्रतक्ष्य सरोकार राख्ने मन्त्रालय रास्वपाका भागमा परेका छन् । एमालेले किन गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता शक्तिमान मन्त्रालय छाडेको ? भन्ने प्रश्नमा एक एमाले केन्द्रीय सदस्य भन्छन् ‘एमालेलाई सिंगो गठबन्धन छ नि ।’

बुधबारै बाग्लुङमा भइरहेको महायज्ञको समापन समारोहमा सहभागि हुन जानुअघि प्रधानमन्त्री प्रचण्डसंग एमाले अध्यक्ष केपी शर्मा ओलीको कुराकानी भएरै भागबण्डा टुंगो लागेको बताइएको छ । ओलीले बाग्लुङ जानुअघि प्रधानमन्त्रीलाई ‘तपाईंलाई के गर्दा सजिलो हुन्छ, क–कसलाई के कति दिनुहुन्छ दिनुस्’ भनेको उनी निकट श्रोतले बताएको छ ।

पार्टीमा ओलीको निर्णयको प्रतिवाद गर्ने वा शंका गर्ने प्रायः नभएकाले उनको विचारनै नीति बन्ने गरेको छ । ‘अध्यक्ष चतुर हुनुहुन्छ, पछिको केही सोचेरै यस्तो गर्नु भएको होला !’ अधिकतम एमाले कार्यकर्ता यसरी चित्त बुझाएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार