इलाम–२ मा झलनाथकै सम्भावना बलियो

banner

काठमाडौं, ८ चैत । आगामी वैशाख १५ गते हुन गइरहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्वर –२ मा सत्तागठबन्धनबाट नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता फलनाथ खनालकै सम्भावना बलियो देखिएको छ । सो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सुभाषचन्द्र नेम्वाङको मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

बुधबार आलोक नगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले गठबन्धनका दलसंग छलफल गरेर उम्मेवारी तय गर्ने निर्णय गरेसंगै झलनाथको सम्भावना बलियो बनेको हो । इलाममा जनाधारको हिसावले नेकपा (एमाले) बलियो पार्टी हो । सुभासको असामयीक मृत्युले झन सहानुभूति थपिएको छ । उनै सुभासका छोरा सुहाङ नेम्वाङ एमालेबाट उम्मेदवारका आकांक्षी छन् । तर, एमालेले उनलाई ‘हरियो झण्डा’ देखाइसकेको छैन ।

एमाले अध्यक्ष नेपाली राजनीतिमा तुलनात्मकरूपमा चतुर खेलाडी मानिन्छन् । एमालेमा उनको निर्णयमा मत बझाउने क्षमता लगभग कसैले राख्दैनन् । उनी सुहाङ नेम्वाङलाई ‘हरियो झण्डा’ नदेखाई अहिले मौन बसेका छन् । एमालेबाटै छुट्टीएको एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालसंग सैद्धान्ति र वैचारिक मतभेद राख्दै आएका झलनाथ खनाललाई उनको पार्टी एकीकृत समाजवादीले उम्मेदवारका लागि गठबन्धनमा छलफल गरेका सबैभन्दा पहिले एमाले अध्यक्ष ओलीलेनै समर्थन गर्ने श्रोतको दावी छ ।

विगत एक महिनाको एमाले अध्यक्ष ओलीको गतिविधि नियाल्ने हो भने, उनी एकीकृत समाजवादीप्रति बढीनै लचक देखिएका छन् । यसका कयौं कारणमध्ये एमालेमा पुनःएकीकरण गर्नु पनि रहेको आम बुझाई छ । सत्ता गठबन्धनको सुरुवातमा सामेल नगराइएका नेपाललाई घरमै पुगेर फकाउनु, प्रचण्डलाई बाहिरै राखेर दुई नेताबीच ‘वन टु वन’ वार्ता हुनु । एमालेले पाएको राष्ट्रिय सभा उपाध्यक्ष सो पार्टीलाई सुम्पनु मात्र होइन रिक्त रहेको प्रतिनिभिसभा शिक्षा समितिको सभापति पनि एकीकृत समाजवादीलाई दिनुले ओलीको लचकता बुझ्न सकिन्छ ।

ओलीका पछिल्ला गतिविधिले एकीकृत समाजवादीलाई अलग पार्टीकारूपमा हेर्ने दृष्टिकोण नरहेको देखाउँछ । यसले पनि झलनाथको नाम एकीकृत समाजवादीले ल्याएमा सहर्ष स्वीकार गर्ने ताकमा ओली रहेको आँकलन गर्न सकिन्छ ।

नेपाल –ओली र ओली – खनालबीचको सम्वन्ध पनि फरक छ । नेपाल र ओली पार्टी अध्यक्षमा प्रतिस्पर्धामा उत्रिए यता सम्वन्ध सुमधुर हुन सकेको छैन । तर त्यसअघिको पोखरा महाधिवेशनमा खानालसंगै अध्यक्षको प्रतिस्पर्धामा पराजित भएका ओलीले पछि उनै झलनाथलाई संदीय दलको नेतामा नेपालविरुद्ध उभ्याएको इतिहास साक्षी छ । यसकारण पनि एकीकृत समाजवादीभित्रै एमालेसंग एकीकरणको दवाव सृजना गर्न पनि झलनाथ गठबन्धनको उम्मेदवार हुने प्रबलता देखिन्छ ।

हुन त गठबन्धनमा एमाले र एकीकृत समाजवादीबाहेक अन्य तीन दल (माओवादी, रास्वपा, जसपा) छन् । माओवादी र समाजवादीको एक्लै जित्ने सामथ्र्य छैन । कांग्रेससंगको गठबन्धनको ढोका बन्द भइसकेको छ । त्यसैले यी पार्टी एमालेका सुहाङ नेम्वाङभन्दा फलनाथकै नाममा जोडबल गर्ने निश्चित छ । यी पार्टीका कतिपयले अहिलेनै पूर्व प्रधानमन्त्री वा ठूला मानिएका गलभग सबै नेताको व्यवस्थापन भइसकेकाले झलनाथलाई मात्र किन बाहिर राख्ने भन्ने तर्क गरिरहेका छन् ।

रह्यो राष्ट्रिय स्वतन्त्र पार्टी उसले सरकार बनाउन गठबन्धन गरे पनि चुनाव गठबन्धन नगर्ने बताइरहेको छ । एमालेले आफूलाई परेको गृहमन्त्री भाग रास्वपालाई सुम्पेको गठबन्धनकै नेताहरूले बताइरहेको परिदृश्यमा उसले ओलीको प्रस्ताव काट्ने सामथ्र्य नराख्ने धेरैको बुझाई छ । त्यसमा पनि अहिले जसरी रास्वपाका अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछानेकै विषयमा प्रतिपक्षीले जोडदार राजीनामाको माग उठाइरहेकामा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले शरम पचाएरै काँधमै बोकेका छन् । यसले पनि पार्टीको नीति जे भए पनि गठबन्धनको निर्णयमा ल्याप्चे ठोक्नु पर्ने रास्वपाको वाध्यता देखिएको छ ।

यसैबीच झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन् । बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै खनालले यसअघिको चुनावमा इलामले फुर्सद दिएकाले अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट बामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्थामा उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार