मधेश प्रदेशमा गृहमन्त्री सरोज यादवको सानदार ‘इन्ट्री’, पदबहालीमै सुराकी खर्च खारेज

banner

जनकपुर, ९ चैत । मधेश प्रदेशमा सुराकी खर्च खारेज गरिएको छ । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयसमेत सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले सुराकी खर्च खारेज गरेका छन् ।

सुराकी खर्चको नाममा मासिक ठूलो रकम खर्च भइरहेको तथ्य सार्वजनिक भएलगत्तै मन्त्री यादवले सुराकी खर्च नै खारेज गरेका हुन्। एमालेबाट भौतिक पूर्वाधार तथा विकास मन्त्रीको कार्यभार सम्हालेका यादवलाई गृह तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ ।

गृह मन्त्रालयको कार्यभार सम्हाल्न मन्त्रालय पुग्नुभएका मन्त्री यादवले सुराकी खर्च खारेज गर्ने पहिलो निर्णय गरेका हुन्। सुराकी खर्च बुझ्नेमा मन्त्री र सचिव नै भएको तथ्य सार्वजनिक भएको थियो । सो समाचार आएपछि मन्त्री यादव निकै गम्भीर बनेका थिए । मन्त्री यादवले राज्यकोषमाथिको ब्रम्हलुट रोक्न पदबहालीमै सुराकी खर्च खारेज गरेका हुन् ।

गृह मन्त्रालयका कर्मचारीका अनुसार मन्त्री यादवले सुराकी खर्च आवश्यक नरहेको भन्दै खारेज गर्ने निर्णय गरेका हुन् । ‘कार्यभार सम्हालेकै पहिलो दिन मन्त्रीज्यूले सुराकी खर्च आवश्यक छैन । राज्यकोषमाथि ब्रम्हलुट गर्न मिल्दैन भनेर पदबहालीमै खारेज गर्ने निर्णय गर्नुभएको छ,’ कर्मचारीले भने ।

मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मन्त्री, राज्यमन्त्री र सचिवले आफूखुसी बुझ्दै आएका थिए ।

मन्त्रालयका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी खर्चवापत मन्त्री, राज्यमन्त्री र सचिवहरुले बुझिसकेका छन् । सो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन अघि बढाएको छ । अख्तियारको पत्रपछि मधेश प्रदेश सरकारले सवै बिवरण पठाइसकेको छ ।

एमालेबाट मन्त्री बनेका यादवको यो निर्णयले राज्यकोषमाथि बिशिष्ट अधिकारीको ब्रम्हलुट रोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार