अमेरिकी कम्कनीमाथि राजश्य अनुसन्धानको कारवाही, १० अर्ब कर छलेको मुद्दा

banner

काठमाडौँ, १९ चैत । राजस्व अनुसन्धान विभागले कोटिभिटी नेपाल प्राइभेट लिमिटेडविरुद्ध दस अर्ब ३६ करोड रुपियाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार दस अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ रुपियाँ राजस्व चुहावट गरेको अभियोगमा पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

सेयरधनी नामसारी गर्दाको राजस्व छली ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपियाँ, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कसुरमा चार अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३५५ रुपियाँ र पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँको बिगो कायम गरिएको छ । कोटिभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । विभागले दायर गरेको आरोपपत्रका अनुसार त्यसको स्थायी लेखा नम्बर ३०११६१६१९१ रहेको छ ।

उक्त कम्पनीले आफूमा रहेको सेयर स्वामित्वमा परिवर्तन हुँदा र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायमा कुनै जानकारी नदिएको विभागले जनाएको छ । सेयर स्वामित्व परिवर्तन गर्दा सिर्जना हुने कर दायित्व पूरा नगरेको, मुख्य कम्पनी कोटिभिटी इन्कलाई आफ्नो सेवा बिक्री गरी राजस्व चुहावट गर्ने उद्देश्यले सहायक कम्पनी काठमाडौँको हात्तीसारमा रहेको कोटिभिटी नेपालले राजस्व छली गरेको तथा डा। इमाद रिज्क ब्रेट म्यागन, केरी एस्किन, पिटर क्सापो, अपर्ना कोथुरसमेतले राजस्व चुहावट ऐनले निषेध गरेका कार्यमा संलग्न भएको कसुर पुष्टि भएको विभागले जनाएको छ ।

महानिर्देशक ढुङ्गानाले उक्त मुद्दामा पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँ राजस्व चुहावट भएको बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका क्रममा सेयरधनी दर्ता किताब प्राप्त गरी विश्लेषण गर्दा भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज् प्रालिका नाममा २०७१ पुस ६ गते सेयरधनी दर्ता किताबमा डिटु हकाई इन्क, २०७१ चैत १३ गते सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इन्क, २०७२ असार ४ गते सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इन्क (सेयर वृद्धि) उल्लेख भएको छ ।

उहाँले भर्सेन्ड टेक्नोलोजिज् प्रालिको नाममा २०७५ जेठ ३० गते सेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इन्क उल्लेख भएको र कोटिभिटी नेपालको नाममा २०७६ भदौ २६ गते सेयरधनी दर्ता किताबमा कोटिभिटी इन्क उल्लेख भएको देखिएको बताए उनले भने ‘विभागले छानबिन गर्दा कम्पनीको विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तन अनुसार प्रस्तुत कम्पनीले करदाता कार्यालयसहितका निकायलाई जानकारी नदिएको र कर नबुझाएकाले आयकर ऐन र कर तथा मूल्य अभिवृद्धि ऐनविपरीत कार्य गरेको देखियो ।’

पटक पटक सेयर लेनदेन

महानिर्देशक ढुङ्गानाले साबिक भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज्को २०७३ साउन २८ गतेको सेयरधनीको निर्णयले कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृति लिएको देखिएको बताउनुभयो । उहाँका अनुसार २०७५ कात्तिक १ गतेको सेयरधनीको निर्णयले कोटिभिटी नेपाल प्रालि राखेको पाइएको छ ।

उनले आर्थिक वर्ष २०७२र७३ मा कुल १७ लाख पाँच हजार २०२ कित्ता सम्पूर्ण सेयर भेरिक्स हेल्थ इन्क, संयुक्त राज्य अमेरिकाको नाममा रहेको देखिएको बताए । उनले २०७५ जेठ २१ गते कम्पनीका तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताब अनुसार कम्पनीको एकल सेयरधनी भर्सेन्ड टेक्नोलोजी इन्क, संयुक्त राज्य अमेरिका रहेको र २०७५ कात्तिक २६ गते कम्पनीका तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताब अनुसार कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क अमेरिका रहेको पनि बताए ।

उनले भने, “कोटिभिटी नेपालले गत वैशाख २१ गते राजस्व अनुसन्धान विभागलाई लेखेको पत्रमा वस्तु तथा सेवाको निर्यात कोटिभिटी इन्कलाई मात्रै गरेको उल्लेख छ । कोटिभिटी नेपालले आफूले उत्पादन गरेको सेवा अरूलाई बिक्री गरेको देखिँदैन ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार