माधव नेपालले गठबन्धन छाडे प्रचण्ड सरकारको भविश्य के होला ?

banner

काठमाडौं , ४ वैशाख । ६ दलको सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको मुभले केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि पनि संकटको संकेत गरेको छ ।

गत २१ फागुनमा तत्कालीन सत्ता गठबन्धनबाट आफूलाई हटाएर सत्ता गठबन्धनमा नेकपा एमाले भित्र्याएपछि चिढिएको कांग्रेसले त्यसै दिनदेखि नै वैकल्पिक गठबन्धनको प्रयास गरिरहेको छ । यसरी प्रचण्ड सरकारको विकल्प खोजिरहेको कांग्रेससँगै मिलेर नेकपा एसले सुदूरपश्चिममा केन्द्रीय गठबन्धनभन्दा विपरीतको गठबन्धन निर्माणमा सघाएपछि त्यसको तरंग काठमाडौंसम्मै आइपुगेको छ ।

सुदूरपश्चिममा फरक बाटो लिएका एस अध्यक्ष माधव नेपाल कहाँसम्म जान्छन्, त्यसले पनि प्रचण्ड सरकारको आयु निर्धारण गर्नेछ । तर, सोमबारसम्म अध्यक्ष नेपाल र एसका प्रवक्ता जगन्नाथ खतिवडाले दिएका अभिव्यक्ति भने प्रचण्ड सरकारका लागि प्रिय छैनन् । अध्यक्ष नेपालले सुदूरपश्चिमजस्तै मधेश, लुम्बिनी र बागमतीमा पनि हुन सक्ने बताएका छन् भने खतिवडाले शिलापत्रसँग भनेका छन्, ‘सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हाम्रो पार्टीलाई दिने सहमति भएको थियो । आइतबार हठात्‌मा प्रचण्ड र ओलीजीले निर्णय परिवर्तन गर्नुभयो । नागरिक उन्मुक्ति पार्टीको पनि रञ्जिताजीको समूहलाई मुख्यमन्त्री दिने हुनुभयो । हाम्रो मुख्यमन्त्री पाउने अवसर खोस्नुभयो । हामीले पनि त्यसका विरुद्ध कार्यनीतिक चाल चालेका हौँ ।’

यसरी गठबन्धनभन्दा फरक हिँडे पनि नेकपा एसले गठबन्धनमा नरहने निर्णय भने गरिसकेको छैन । त्यसैले पनि सत्ता गठबन्धनमा अझै सेटलमेन्ट हुन सक्ने अवस्था छ । तर, नेकपा एसको सहयोग लिएर वैकल्पिक गठबन्धन निर्माणको अवसर खोजिरहेको कांग्रेस यो समयमा चुप बसेको छैन । कांग्रेस सरकारमा रहेका प्रमुख दलबिनाको सरकार बनाउन प्रयत्नशील रहेको सांसद प्रदीप पौडेल बताउँछन् । उनले भने, ‘यो गठबन्धनका मुख्य शक्तिबाहेक अन्य साना शक्तिसँग मिलेर गठबन्धन गरेर अघि बढ्ने कुरामा कांग्रेस सकारात्मक छ । तर, त्यस्तो परिस्थिति अहिले बनिसकेको भने छैन ।’

अहिलेको संसदको गणित यति अप्ठेरो छ कि जतिबेला पनि जस्तो पनि नयाँ समीकरण बन्न वा भत्किन सक्छ । अहिलेको सत्ता गठबन्धनमा ३२ सिटको माओवादी केन्द्र, ७८ सिटको नेकपा एमाले, २१ सिटको रास्वपा, १२ सिटको जसपा, १० सिटको नेकपा एस र चार सिटको नाउपा छन् । यसरी सत्ता गठबन्धनसँग अहिले १५७ सिट छ । यसमध्येको नेकपा एस बाहिरिँदा अहिलेको गठबन्धन १४७ सिटमा झर्छ । त्यसमा पनि नाउपामा विवाद छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अहिलेको गठबन्धनमा छिन् भने संरक्षक रेशम चौधरी विपक्षमा छन् । यसरी हेर्दा नाउपाले पनि अनुकूलतामा यो गठबन्धन छोड्न सक्ने सम्भावना छ । यसपछि प्रचण्ड सरकारको समर्थनमा १४३ सिट बाँकी रहन्छ ।

नेकपा एस सत्ता गठबन्धनबाट बाहिरिए त्यसको प्रभाव सुदूरपश्चिम, बागमती, लुम्बिनी र मधेश प्रदेशमा पर्नेछ । मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ । नेकपा एसले समर्थन नदिए जसपाको मधेश सरकार ढल्छ । त्यस कारण पनि जसपा अहिलेको सत्ता गठबन्धन छोडेर नयाँ विकल्पमा जानुपर्ने बाध्यतामा पर्नेछ । यस्तो अवस्थामा जसपाले साथ छोडे प्रचण्ड सरकार अल्पमतमा पर्नेछ ।

सत्ता गठबन्धनलाई माधव नेपालले सुदूरपश्चिमबाट दिएको सन्देश भनेकै नयाँ सहमति नगरे गठबन्धन टिकाइराख्ने मुडमा नेकपा एस छैन भन्ने हो । त्यसो त नेपाल २१ फागुनमा नयाँ गठबन्धनमा जाने मनस्थितिमा थिएनन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले कोटेश्वर पुगेरै उनको सहयोग मागेका थिए । एमालेबाट फुटेकाले सोही पार्टीसँग गठजोड गर्दा नेता कार्यकर्ता जोगाउने चुनौतीले पनि नेता नेपाललाई पिरोलेको छ । यस्तोमा कांग्रेसले फ्याँक्न सक्ने प्रधानमन्त्रीको नयाँ सत्ता कार्डमा उनी पर्न सक्छन् ।

विगतमा पनि उनले आफू अपमानित भएको महसुस गर्दा एमाले छाड्ने निर्णय गरेका थिए । अहिले पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सहमति कुल्चेर पेलेको महसुस उनले गरेका छन् । गठबन्धनबाट लाभ लिन नसकिने, उल्टै पार्टीकै भविष्य अनिश्चित हुने स्थितिमा उनी वाम ध्रुवीकरणका नाममा धेरै दिन रहन सक्ने स्थिति छैन । नेपालले गठबन्धन छोड्ने निर्णय जसपाका उपेन्द्र यादवसम्म आइपुग्ने परिदृश्य बनेकाले प्रचण्ड सरकारमाथि संकट सन्निकट रहेको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार