बालुवाटारमा प्रचण्ड र खनालबीच यस्तो भयो सहमति, सुदूरपश्चिम विवाद साँझसम्म सुल्झेला ?

banner

काठमाडौं, ४ वैशाख । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न बालुवाटार पुगे ।

बालुवाटारमा दुई नेताबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । सुदूरपश्चिममा आफ्नो पार्टीले पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने खनालको भनाइ थियो । त्यसो हुन नसके गठबन्धनमा समस्या आउने उनको चेतावनी रहेको स्रोतले जानकारी दिएको छ ।

जवाफमा प्रचण्डले मिलाउन प्रयास गर्ने आश्वासन दिएका थिए । प्रचण्डले भने नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सुदूरपश्चिममा सरकार गठनमा समस्या सिर्जना भएको बताएका थिए ।

प्रचण्डले यो विवादको समाधानका लागि आफूले पनि प्रयास गर्ने बताएका थिए । साथै एकीकृत समाजवादीलाई मिलाउन पनि खनाललाई सुझाएका थिए ।

गठबन्धनमा सुरुमा सुदूरपश्चिममा पहिले एकीकृत समाजवादीले पाउने सहमति भएको भनिएको थियो । तर, उक्त सहमतिबाट प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पछि हटेको भन्दै गठबन्धन टुट्नेसम्मको चेतावनी नेकपा एसका नेताहरूले दिएका छन् ।

विवाद बढ्दै जाँदा सुदूरपश्चिममा नागरिक उन्मुक्तिकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनलाई एमाले, माओवादी केन्द्रले समेथन गरेको छ ।

उता नाउपाकै संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनलाई नेकपा एससहित नेपाली कांग्रेसको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार