वीर अस्पतालमा मन्त्रीको सनकले विरमीलाइ मर्का

banner

काठमाडौँ, ५ वैशाख । राणाकालमै खुलेको नेपालको जेठो अस्पताल अहिले अस्तव्यस्त जस्तै बनेको छ । अस्पताल अस्तव्यस्त हुँदा सेवा खुम्चिएको छ भने बिरामी महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत २२१ जना स्वास्थ्यकर्मी एकैपटक हटाए । यसले गर्दा अहिलेसम्म वीर अस्पतालको सेवा अस्तव्यस्त भएको हो । अस्पताल जाने हरेक बिरामी फर्केर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।

वीर अस्पतालले नियमित रूपमा ५९ शय्याको आइसियु सञ्चालन गरिरहेको थियो । अहिले यो सेवा खुम्चिएर २३ शय्यामा सीमित भएको छ । जसको प्रमुख कारण भनेकै स्वास्थ्यकर्मीहरूको कमी भएको बताइएको छ ।वीर अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार न्युरो विभागमा भएका नर्सलाई हटाउँदा महिनामा १२५ वटासम्म हुने अप्रेसन ८० भन्दा तल झरेको छ । ६० शय्यामा चलिरहेको न्युरोलोजी सेवा ३५ शय्यामा खुम्चिएको छ । अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मीले भने, ‘करारमा रहेका नर्सहरूले गर्दा सेवा विस्तार भएको थियो । तर, अहिले एकैपटक धेरै स्वास्थ्यकर्मी हटाएर पनि थप नियुक्त नगर्दा अस्पतालमा न्युरोलगायत धेरै सेवा प्रभावित भएका छन् ।’

वीरमा प्रतिष्ठानतर्फका स्थायी तथा अस्थायी गरी ५३५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । उनीहरूको तलबभत्ता वीरको आन्तरिक आम्दानीबाट भुक्तानी गर्नुपर्छ । सरकार र प्रतिष्ठान दुवैथरीका गरी करिब १६ सयदेखि १७ सय जना स्वास्थ्यकर्मी र कर्मचारी छन् । उनीहरूको सेवा विस्तार भत्ता ५० प्रतिशत पनि वीरको आन्तरिक स्रोतबाटै दिने व्यवस्था छ ।

सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका–२०७० जारी गरेको छ । निर्देशिकाले कति शय्याको अस्पतालमा कति वटासम्म न्यूनतम अप्रेसन थिएटर ९शल्यकक्ष० हुनुपर्छ भनेर तोकेको छ । ५० शय्या क्षमता बराबर एउटा मेजर र एउटा माइनर अप्रेसन थिएटर हुनुपर्ने निर्देशिकामा उल्लेख छ । यसको अलावा प्रत्येक २५ शय्या सर्जिकल बेडका लागि १ सघन शल्यकक्ष र आवश्यक सामान्य शल्यकक्षको थप व्यवस्था हुनुपर्ने उल्लेख छ ।‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७’ ले पनि प्रति २५ शय्या क्षमता बराबर एउटा सघन शल्यकक्ष र एउटा सामान्य शल्यकक्षको व्यवस्था हुनुपर्ने भनेको छ । ५० शय्याको अस्पतालमा २, १०० शय्याको अस्पतालमा ४, २०० शय्याकोमा ८, ३०० शय्याको १२ र ५०० शय्या वा सोभन्दा बढी भएका अस्पतालमा २० वटा सघन शल्यकक्षको व्यवस्था हुनुपर्ने देखिन्छ । तर, निर्देशिका र मापदण्ड काठमाडौँकै अरू ठुला सरकारी अस्पतालमा समेत लागू भएको छैन ।

स्वास्थ्यमन्त्री नियुक्त भएकै दिन पद बहाली गर्दै मन्त्री उपेन्द्र यादवले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच बनाउने बताएका थिए । उनले भनेका थिए, ‘जति दिन स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा बस्छु, त्यति दिन स्वास्थ्य सेवाको सहज पहुँचका लागि कसरी काम गर्न सकिन्छ भन्नेमा म केन्द्रित हुनेछु ।’

तर, उनको कथनी र करणीमा फरक देखिएको छ । जसले गर्दा यसअघि पाउँदै आएको सेवाबाट समेत नागरकले वञ्चित हुनुपरेको छ । वीरका ती स्वास्थ्यकर्मी भन्छन्, ‘मन्त्रीज्यूले नबुझेको भन्ने होइन, नबुझेजस्तो गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार