
बर्दिवास, ६ वैशाख । नेपाली कांग्रेसले सीमाक्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य गरिएकोप्रति विरोध जनाएको छ । उसले यी पाँच बुँदै माग सरकार समक्ष प्रस्तुत गरेको छ ।
मागहरूमा –उक्त निर्णय तत्काल फिर्ता लिइयोस् वा व्यक्तिगत प्रयोगका वस्तुका लागि व्यवहारिक सीमा निर्धारण गरियोस् ।
–खाद्यान्न, लत्ता–कपडा, तेल, साबुन जस्ता दैनिक उपभोग्य वस्तुमा भन्सार दर घटाइयोस् वा अस्थायी छुट दिइयोस्।
– मधेश प्रदेशका लागि कृषि, सिँचाइ तथा साना उद्योगमा लक्षित राहत प्याकेज र सब्सिडी लागू गरियोस् ।
–इन्धन मूल्य नियन्त्रणका लागि पारदर्शी मूल्य निर्धारण प्रणाली लागू गर्दै गरिबमुखी क्रस–सब्सिडी नीति अवलम्बन गरियोस् ।
–अल्पकालीन रूपमा भए पनि ईन्धन आयातमा विभिन्न शीर्षकमा लाग्ने कर तथा शुल्क घटाई तत्काल राहत प्रदान गरियोस् ।
यस प्रकारको नीतिले विशेषगरी मधेशका सीमावर्ती नागरिकहरूमा राज्यबाट भेदभाव भएको अनुभूति बढाएको र यसले राष्ट्रिय एकता र सामाजिक न्यायका लागि गम्भीर चुनौती खठा गर्न सक्ने तर्कसमेत कांग्रेसले गरेको छ ।

