सोडारीलाइृ मुख्यमन्त्रीमा समर्थन गर्न एमालेको आनाकानी, सुदूरको सरकारमा दावी गर्ने म्याद घर्किदै

banner

धनगढी, ६ वैशाख । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।

सत्तारूढ गठबन्धनभित्र भएको सहमति अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको छ तर एमालेले उनलाई विवादित पात्र भन्दै मुख्यमन्त्रीका रूपमा समर्थन गर्न नसकिने अडान लिएको छ ।

‘व्यक्तिगत रूपमा उहाँ (सोडारी)सँग हाम्रो केही पनि होइन तर उहाँ विगतदेखि विवादित हुनुहुन्छ,’ एमालेका एक प्रदेश सभा सदस्यले भने, ‘सोही कारण उहाँलाई मुख्यमन्त्रीका रूपमा स्वीकार्ने अवस्था छैन । अर्को पात्र आएमा सहमति हुन्छ ।’

सोडारीले कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम पक्षसँग मिलेर गठबन्धन तोड्ने प्रयास गरेका कारण पनि उनलाई अघि सार्न नसक्ने अवस्था बनेको एमालेका अर्का प्रदेश सभा सदस्य बताउँछन् ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने पात्रको विषयभन्दा पनि पार्टीको निर्देशन पर्खिरहेको बताए ।

‘गठबन्धनमा के सहमति भएको हो, सुदूरपश्चिममा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय नेतृत्वबाट कुनै निर्देशन आएको छैन्,’ रावलले भने, ‘हामी पार्टीको निर्देशन पर्खिरहेका छौं ।’

तर एकीकृत समाजवादी प्रदेश संसदीय दल र केन्द्रीय सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावल भने गठबन्धनमा आवद्ध सबै दलले एकअर्काको विकल्प स्वीकार गर्नुपर्ने बताउँछन् ।

आफ्नो पार्टीले सोडारीलाई नै मुख्यमन्त्रीका रूपमा अघि बढाउने निर्णय गरेकाले एमाले त्यसमा सहमत हुनुपर्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीले पहिलोपटक २३ चैतमा सरकार गठनका लागि दिइएको समयमा कांग्रेससँग मिलेर नाउपाका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो । चौधरीले २ वैशाखमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

एमाले र माओवादीको समर्थनमा नाउपाकै अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाले निष्कर्षमा पुग्न नसकिएको भन्दै संविधानको धारा१६८ को ९२० अनुसार नै सरकार गठनका लागि पुनस् आह्वान गरेका हुन् ।

यो बीचमा एकीकृत समाजवादीका सोडारीले लक्ष्मणकिशोरलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार