नाउपा सांसद थापाको समर्थन फिर्ता सुदूरपश्चिम सरकार नबन्दै संकट

banner

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन् ।

मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् । मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् ।

नाउपाबाट कैलाश चौधरी भने भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए । नाउपाका जम्मा ७ सांसदमध्ये पाँच जनाले यसअघिनै आफ्नो समर्थन नरहेको भनेर प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् बाँकी दुईमा पनि थापाले समर्थन फिर्ताको घोषणाले सरकार बनेको एक दिनमै अल्पमतमा परेको छ ।

रञ्जिता श्रेष्ठको पक्षमा रहेको दुई सांसद कैलाश र थापामध्ये थापाले समर्थन फिर्ता लिदा अब रञ्जिताका पक्षमा पनि एक सांसद मात्र बाँकी रहेका छन् । सुदूरपश्चिमा माओवादीका सभामुखसहित ११, एमालेका १०, एकीकृत समाजवादीका –४, नाउपा –७ र एक स्वतन्त्र सांसद छन् । सरकार बनाउन २७ सांसदको आवश्यकता पर्नेमा स्वतन्त्र सांसदले समर्थन गरे पनि जम्मा २६ मत मात्र पुग्छ । तर, अर्को तर्फ पनि २६ मात्र हुने भएकाले सुदूरमा राजनीतिक संकट रहिरहने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार