आज महावीर जयन्ती, वर्धमान कसरी महावीर भगवान बने ?

banner

काठमाडौं, ९ वैशाख । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।

करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए ।

महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्न सिकाएका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।

राष्ट्रपति पौडेलको शुभकामना

यसैबीच महावीर जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण जैन धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन् । उनले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले महावीरले देखाएको अहिंसा, संयम र जनकल्याणको मार्गदर्शन परिपालन गर्न आग्रह पनि गरेका छन् ।

साथै राष्ट्रपति पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने पनि उल्लेख गरेका छन् ।

‘सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ’, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार