लुम्बिनीमा गठबन्धनको असन्तुष्टी छताछुल्ल, मन्त्री अहिरले दिए राजीनामा

banner

बुटवल, ९ वैशाख। जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिएका हुन् ।

उनले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद दिएका छन् । चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित मन्त्री बनेका अहिरले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए ।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले सत्ता गठबन्धन र जसपाबिच ७ बुँदे सहमति भएको र मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति उल्लङ्घन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए । सरकारबाट मन्त्री फिर्ता भएपनि समर्थन भने कायम रहने उनले रातोपाटीलाई बताए ।

मुख्यमन्त्री र गठबन्धनका दलले सहमति उल्लङ्घन गरेर गठबन्धनको मूल्य मान्यता र मर्म विपरीत गएकाले उनीहरूलाई नैतिकता सिकाउन आफूहरूले सरकारबाट बाहिरिने निर्णय गरेको अहिरले बताए । सरकारलाई दिएको समर्थन भने कायमै रहने उनले बताए ।

लुम्बिनीमा जसपाका तीन सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । यद्यपि सरकारको स्थिरतामा भने अन्यौलता सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार