महोत्तरी, १३ वैशाख । आगलागिमा परेर बिल्लबाठ भएकालाई मटिहानी नगरपालिकाले तयारी खाना उपलब्ध गराएको छ । पकाउने भाडा र अन्न सबै जलेर खरानी भएकाले तत्काल तयारी खाना उपलब्ध गराएको मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बताए ।
बुधबार मटिहानी –६ को जरलहवागाछी लब्काटोलमा आगलागि भएको थियो । साँझ ७ वजे पछि नै आगलागि नियन्त्रणमा आएकाले पीडित परिवार थाकेर लखत।ान परेको अवस्थामा नगरपालिकाले तयारी खाना उपल्ब्ध गराएको हो । ‘आकस्मिक कार्यपालिकाको बैठक बसेर तत्काल तयारी खाना उपलब्ध गराउनुनै उपयुक्त हुने ठहर भएकाले सो निर्णय गरियो’ नगर प्रमुख मण्डले भने ।
मैमुल खातुनको घरबाट सल्केको आगो छिनभरमै बस्तीभरी फैलिएकाले झुरमुट्ट बस्ती दन्कन थालेको थियो । बुधबार साँझसम्म अग्नि नियन्त्रणमै लागेकाले पीडितको एकीन विवरण प्रप्त नभए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा सय घर छन् भने स्थानीय दुई सय परिवार रहेको दावी गर्दछन् ।
नेपाल रेडक्रस सोसाइटी महोत्तरीले तत्काल पकाउँने भाँडा उपलब्ध गराएको बताउँदै शाखा सभापति दीपक मिश्रले अन्य राहत जुटाउन प्रयत्न गरिरहेको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अग्निपीडितका लागि राहत सहयोगको सार्वजनिक अपील गरेका छन् । विपद् व्यवस्थापन कोषबाट गर्न सक्ने सहयोग वितरण गर्न पीडित परिवार एकीनको काम भइरहेको बताएका छन् ।