वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको शानदार जित

banner

काठमाडौं, १५ वैशाख । कप्तान रोहितकुमार पौडेलले ४७ बलमै शतक बनाएसँगै नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा रोमाञ्चक जित हासिल गरेको छ।

शनिबार सम्पन्न पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन चाहिएको थियो। उक्त ओभर गर्न ओशान थोमस आएका थिए। उनको पहिलो बलमा गुल्शनकुमार झाले १ रन मात्रै लिए।

दोस्रो बलमा प्रतिश जीसीले पुनः १ रन लिए। तर, तेस्रो र चौथो बलमा लगातार २ चौका प्रहार गर्दै गुल्शनले नेपाललाई जित दिलाए।

गुल्शनकुमार झा ४ बलमा २ चौकासहित ९ र प्रतिश जीसी २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे। रोहितले सर्वाधिक ११२ रन बनाए। ५६ बल खेलेका उनले १० चौका र ८ छक्का प्रहार गरे।

दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६ र कुशल भुर्तेल १६ रनमा आउट भए। वेस्ट इन्डिजका म्याथ्यू फोर्डे र ओबेद म्याककोएले २२ विकेट लिए। किमो पलको नाममा १ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो।

वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए। ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे।

एलिक एथानाज ४७, केसी कार्थी ३८ र आन्द्रे फ्लेचरले १३ रन बनाउँदा कादिम एलीन १४ र किमो पल १ रनमा अविजित रहे।

नेपालका कमलसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहराले १र१ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार