बर्दिवास, ३० वैशाख । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । समर्थन फिर्ताका लागि एमाले र माओवादीले आफ्ना सबै प्रदेश सांसदलाई जनकपुर बोलाएका छन् ।
आइतबार मध्यान्हमा अकस्मात सृजना भएको घटनाक्रमअनुसार संघीय सरकारबाट उपेन्द्रलाई वर्खास्त गर्ने र मधेस प्रदेशमा पनि एमाले र माओवादीले जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएका ेसमर्थन फिर्ता लिने निर्णय भएको हो । एमालेले र माओवादीले समर्थन फिर्तालिए मुख्यमन्त्री यादवको सरकार अल्पमतमा पर्नेछ । मधेसमा नयाँ सरकारका लागि यो एमाले –माओवादीसहितको गठबन्धनलाई जनमत पार्टीको साथको आवश्यकता हुनेछ ।
उपेन्द्र यादवबाहेको सरकारमा सहभागि हुन आफूहरूलाई कुनै आपत्ति नभएको जनमतले बताउँदै आएको छ । मधेसमा एमाले सभामुख सहित २५, मनमत १३, माओवादी ९, नेकपा (एस)७ र सिंगो जसपा नेपाल रहँदा १९, राप्रपा, नाउपा र संघीय समाजवादीका १–१ सांसद छन् । मधेस प्रदेशसभा १०७ सदस्यीय रहेको छ, जसमा सरकार बनाउन आवश्यक संख्या ५४ हुन आउँछ । कांग्रेस र जसपाबाहेककै सरकार बन्नेस्थिति भएपछि एमाले –माओवादीले समर्थन फिर्तालिन लागेको बताइएको छ ।
आइतबारै समर्थन फिर्ता लिने र भोली (सोमबार)सम्ममा नयाँ सरकारका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने योजना रहेको एमाले श्रोतले बताएको छ ।