संविधान निर्माण गर्दा कम्युनिष्टले भरिया बनाए : शंकर भण्डारी

banner

बर्दिवास, २ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले संविधान निर्माणमा कम्युनिष्टले नेपाली कांग्रेसलाई भरया बनाएको बताएका छन् । आज नेपाली कांग्रेस बर्दिवास नगरसमिति तथा क्षेत्रनं. १ (क)को पार्टी कार्यालय उद्घाटन गर्दै सासंद भण्डारीले भने ‘कांग्रेसले संविधान हामीले बनायौं भनेर नाक घोक्र्याउनु मात्रै हो ।’

पार्टी कार्यालय उद्घाटनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता भण्डारीले जम्मै कम्युनिष्टको एजेण्डा समेटिएको संविधानलाई कांग्रेसले हाम्रो नेतृत्वमा जारी भएको भनेर नाक घोक्र्याउनु बिडम्बना भएको बताए । आफू पनि संविधानसभाको सदस्य तथा मस्यौदा समितिको सदस्य भएको नाताले त्यतिबेलै ‘नोट अफ डिसेन्ट’ लेखेको दावी गरे ।

गणतन्त्रको विषय त ठिकै छ तर, धर्मनिरपेक्षतामा सहिछाप लगाएर कांग्रेसले गल्ती गरेको उनको कथन थियो । विश्व हिन्दु महासंघको कार्यक्रममा सहभागि हुन जनकपुर आउने क्रममा बर्दिवासको पार्टी कार्यक्रममा सहभागि भएका उनले ढिलोचाडो संविधानमा हिन्दुराष्ट्र लेखिछाड्ने दावी गरे । हिन्दु धर्मको मुद्दा नबोक्ने हो भने कांग्रेससंग आफ्नो भन्ने कुनै चिज बाँकी नरहने नेता भण्डारीको दावी थियो ।

अहिलेको सत्ता गठबन्धन धेरै नटिक्ने आन्तरिक र वाह्य कारण रहेको बताउँदै उनले भूराजनीतिक कारण बाह्य भयो भने आन्तरिकरूपमा गठबन्धनभित्रै असन्तुष्टी भएको दावी गरे ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार