मधेस सरकार कस्को नेतृत्वमा बन्ने, भन्ने विषय टुंगो लागेको छैन : एमाले

banner

काठमाडौं, ८ जेठ । नेकपा(एमाले) मधेश प्रदेश सभाका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश प्रदेशको सरकार कुन पार्टीको नेतृत्वमा बन्ने टुंगो नलागेको बताएका छन् । सरकार बनाउन अहिलेको गठबन्धनको बहुमत पुग्छ र गठबन्धनकै सरकार बन्छ भन्ने टुंगो हो, नेतृत्व कुन पार्टीले गर्ने भन्ने विषय नटुंगिएको उनले बताए ।

वर्तमान जसपा नेपाल नेतृत्वको सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएर वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेकाले पनि कसले नेतृत्व गर्ने भन्ने विषय नटुंगिएको एमाले नेता यादवको कथन छ । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदमा आफ्नो बहुमत सिद्ध गर्नु पर्ने संवैधानिक प्रावधान छ । मुख्यमन्त्रीले विश्वासको मत पाएनन् भने मात्र प्रदेश प्रमुखले अर्को सरकारका लागि आह्वान गर्न सक्छन्, वा यसबीचमा मुख्यमन्त्री स्वयंले नैतिकताका आधारमा राजीनामा दिनु पर्यो ।

राजीनामा पनि नदिएको र विश्वासको मत लिन पाउने म्याद बाँकी नै रहेको अवस्थामा नयाँ सरकार बन्ने अवस्था नरहेको नेता यादव बताउँछन् । एमाले र माओवादीले वैशाख २० गते समर्थन फिर्ता लिएका हुन् । अब त्यसको ३० दिनभित्र मुख्यमन्त्री सरोजकुमार यादवले संसदमा आफ्नो बहुमत सिद्ध गर्नु पर्ने हुन्छ । उनी बहुमत सिद्ध गर्ने प्रयासमा लागेका छन् । त्यस प्रयासमा उनी सफल भइसकेका छैनन् ।

कांग्रेस र लोसपाले जसपा नेपालको नेतृत्व नस्वीकार्ने बताइसकेको छ । जबकी यी तीन पार्टी मिल्दा पनि आवश्यक बहुमत पुग्दैन । १०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार बनाउन आवश्यक संख्या ५४ हो । अहिले मधेश प्रदेश सभामा कांग्रेसका २२, लोसपा ८ र जसपा नेपाल १९ छन् । यो संख्या जम्मा ४९ हुन्छ । राप्रपा, नाउपा र संघीय समाजवादीका १÷१ सांसद छन् । यी तीनै जनाले मत दिंदा पनि ५२ मात्र पुग्छ । यसमा पनि नाउपा केन्द्रमा सत्ता गठबन्धनमा रहेकाले जसपा नेतृत्वको सरकारलाई मत दिने सम्भावना छैन ।

अर्कोतर्फ एमाले २४, माओवादी ९, जनमत १३ र नेकपा(एस) का ७ सांसद छन् । यो गठबन्धनमा पनि अहिलेको अस्थामा ५३ सांसद मात्र पुग्छन् । तर, नाउपाको १ जोड्दा आवश्यक बहुमत ५४ पुग्छ । यो गठबन्धनलाई जसपा नेपालबाट अशोक राई नेतृत्वको जसपामा आउने सांसदहरूको पनि साथ रहनेछ । तर, अदालतमा मुद्दा विचाराधिन रहेकाले कोही बोल्ने अवस्थामा छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार