बर्दिवासकै यी बस्तीमा रात परेपछि आउछन् विभिन्न किसिमका आवाज

स्थानिय खबर

बर्दिवास, ९ जेठ । दिनभरी चकमन्न हुने बर्दिवास –८ का वस्तीका खेतवारीबाट रात छिप्पिदै जाँदा विभिन्न किसिमका आवाज सुनिने गरेका छन् । गाउँवस्तीमा राति कुकुर भुकेको आवाज आउनु त सामान्य कुरा हो, तर खेतवारीमा कहिले कुकुरजस्तो त कहिले माननिस ले हल्ला गरेकोजस्तो कहिले अन्य जनावरकोजस्तो आवाज सुनिनु सामान्य कुरा होइन ।

बन्यजन्तुले बालीनाली विमाख गरेर हायलकायल पारेपछि किसानले अनेक जुक्तिबुद्धी लगाउन थालेका छन् । त्यसैको एउटा जुक्ति हो रातभरी खेतवारीबाट आउने यस्ता थरीथरीका अनौठा आवाज । यी आवाजका कारण केही मात्रामा भए पनि बालीनाली जोगाउन सकिएको किसानहरू बताउँछन् ।

यस भेगमा निलगाई(घोडगधा), बँदेलले बाली विनास गरेर किसान हैरान भएका छन् । सुरुमा त हाम्रो परम्परागत तरिका खेतवारीमा ठाउँ ठाउँमा पुत्ला (मानिसको लुगा लगाएर उभ्याइने पराल र वाँसबाट बनेको स्वरूप) राखियो । त्यसले केही दिन त बन्यजन्तु हच्के तर, धेरै दिन काम नगरेको बर्दिवास –८का बासुदेव साह बताउँछन् । ‘घोडगधा आएर परैबाट हेथ्र्यो र फर्कन्थ्यो । तर सधै उही ठाउँमा कुनै हलचल नगरी बसेकाले उसले बुझ्यो होला टेर्न छाड्यो । पुत्ला राखिएका खेतवारीका बालीनाली भुसुक्कै पार्न थाल्यो । अहिले त टेर्दैन पुत्लालाई’ उनी बताउँछन् ।

यो जुक्ति पनि काम नलागेपछि किसानले यस्ता पुत्लाको हातमा पिँध फुटाइएको वियरका बोतलमा घण्टीकोजस्तो रालो हालेर झुण्ड्याइयो । रालोमा लामालामा डोरी बाँधेर खेतवारीको पर–परसम्म छरेर राखियो । बन्यजन्तु आएर खेतवारीमा पस्दा छरिएको डोरीमा खुट्टा अल्झिदा पुत्लाको हातमा झुण्ड्याइएको रालो हल्लिएर सिसाको बोतलमा ठोक्किएर घण्टीजस्तो टिनिनिनि….आवाज आउँदा तर्सिएर भागोस । यस्तो जुत्तिले पनि धेरै दिन काम गरेन बन्यजन्तुले बाली विनास गर्न छाडेनन् । खेतवारीमा विजुली पुर्याएर रातभर िबत्ति बालिरहँदा पनि केही दिनलाई मात्र काम गर्यो पछि टेर्न छाडे बन्यजन्तुले । टेकुल पंखाजस्तो घुमेर बल्दै निभ्दै गर्ने विजुलीको चिम । त्यसले पनि सधै काम नदिएको किसान बताउँछन् ।

सधैं रातभर िखेतवारीमा जाग्राम बस्न नसकिने दिउँसो त्यही खेतवारीमा काम गर्नु पर्यो । नुन तेलको जाहो गर्न हाट बजार जानु पर्यो । अनि अर्को उपाय निकाले । कुकुर भुकेको, मान्छेले चराचुरुङ्गी धपाएको, टिन ठटाएको, अनि हहाहा होइ….., रोएको आदी आवाजलाई रेकर्ड गरेर चिप्सलाई साना स्पिकरमा हाले खेतवारीको आलीमा प्ले गरेर राख्ने । अध्यारो भएपछि राख्ने विहान झिसमिसमै अफ गर्ने । दैनिक उएटै ठाउँमा एकै किसिमको आवाज आउँदा एकदुई दिन विचार गरेर त्यसपछि बन्यजन्तुले नटेर्ने भएकाले दैनिक फरक आवाज वा पटकै पिच्छे फरक आवाज आउने बनाउने गरिएको बर्दिवास –८ कै रामबाबु श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘एकोहोरो आवाज आइरहँदा पनि टेर्दैन । त्यसैले हरेक १०– सेकेन्डको फरक पारेर आवाज आउने बनाइएको हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार