
बर्दिवास, ८ मंसिर । शुभस्वस्तिक हस्पिटलले बर्दिवासका बालबालिकाको आँखा र मुख स्वास्थ्यको चिन्ता लिन थालेको छ । बालबालिकाको आँखा र मुख स्वास्थ्यको चिन्ता लिंदै शुभस्वस्तिकले बिद्यालय, विद्यालय गएर बालबालिकाको आँखा र मुखको निःशुल्क जाँच अभियान सञ्चालन गर्दै आएको छ ।
यस क्रममा शुक्रबार मात्र बर्दिवास –१४ स्थित सप्तमर्णिका स्कूलमा अध्ययनरत् बालबालिकाको आँखा र मुखको निःशूल्क जाँच गरेको छ । सो क्रममा ३३१ बालबालिकाको आँखा र मुखको जाँच गरिएको हस्पिटलले जनाएको छ । बर्दिवास हेल्थ फाउण्डेशनको आयोजना र शुभस्वस्तिक हस्पिटलको जनशक्ति तथा प्राविधिक सहयोगमा बालबालिकाको आँखा र मुख स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको हस्पिटलले जनाएको हो ।

बालबालिका भविश्यका कर्णधार हुन्, उनीहरू स्वस्थ हुनु भनेको देशको भविश्य स्वस्थ हुनु हो भन्ने आफूलाई लागेको सो हस्पिटल सञ्चालक दीपक कार्की बताउँछन् । अब नेपालीहरूको चाडबाँड पनि सकिएकाले विद्यालयका बालबालिकाको निशुल्क आँखा तथा दन्त परीक्षण अभियान सञ्चालन गर्न लागेको उनले बताए । अभियान अन्तर्गत हरेक साता एक विद्यालयमै गएर दक्ष चिकित्सक र स्वास्थ्यकर्मीले बालबालिकाको आँखा र मुखको निशुल्क जाँच गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यस्तो परीक्षणका क्रममा आँखा र मुख स्वास्थ्यमा केही समस्या पाइएका बालबालिकालाई हस्पिटलमा ५० प्रतिशतसम्म छुटमा उपचार गर्ने व्यवस्था मिलाइएको हस्पिटल सञ्चालक कार्कीले बताए । बिद्यालयमै आवश्यक उपकरण लैजान समस्या भएकाले समस्या देखिएका बालबालिकालाई हस्पिटलमा बोलाएर उपचार गर्ने व्यवस्था मिलाइएको उनी बताउँछन् । यसरी आउने विरामी बालबालिकाको उपचारमा ५० देखि ६० प्रतिशतसम्म छुट दिने गरिएको उनले बताए ।

