बर्दिवास, २९ माघ । नेकपा(एमाले) बर्दिवासका अध्यक्षसमेत रहेका बर्दिवास नगरपालिका– ५ का वडाध्यक्ष कारहमान श्यांङ्वाले शिक्षा क्षेत्रमा अनुकरणीय काम गरेका छन् । एउटा वडाध्यक्षले पनि चाहेमा यतिसम्म गर्न सक्दो रहेछ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।
खासगरी शिक्षा क्षेत्रमा उनले निकै अभिरुची देखाएको पाइएको छ । हालै उनले आफ्नो वडाका सामुदायिक विद्यालयलाई बाद्यबादनका सामाग्री र विभिन्न जनजातिका पोषाक वितरण गर्न गइरहेका छन् । योभन्दा बढी उनले वडास्तरीय शैक्षिक क्यालेन्डर प्रकाशन गरेका छन् । ‘यो शैक्षिक क्यालेण्डरलाई पालना गर्ने गरिएको छ । कति ढंग पुग्यो पुगेन थाहा भएन’ उनले भने ।
अहिले उनको कार्यकक्ष विद्यालयमा वितरण गर्ने खेलकुदका सामाग्री, बाद्यबादनका सामाग्री र पोषाकका पोकाले भरिभराउ रहेको छ । केही दिनमै विद्यालयमा वितरण गर्ने योजना रहेको उनले सुनाए । बाद्ययवादनका सामाग्रीमा विद्यार्थीलाई पिटी खेलाउदा बजाउने ड्रम(ढ्याङ्ग्रो), सास्कृतिक कार्यक्रममा आवश्यक मादल, झ्याली, झ्याम्टा, हारमोनियम, तबला रहेका छन् । जनजाति बहुल वडा भएकाले ४ थरीका जनजातिले लगाउने मौलिक पोषाकसमेत वितरण गर्न लागिएको उनले बताए ।
शैक्षिक क्यालेन्डरमा बिद्यालयका शिक्षक र विद्यार्थीले गर्ने हरेक जिममेवारी तथा गतिविधि समेटिएका छन् । क्यालेन्डरमा शिक्षकहरूको वैठक कुन दिन बस्ने, कार्य सम्पादन मूल्यांकन फारम कहिले बुझाउने, हरेक महिनाको एक दिन वडा कार्यालयमा प्रधानाध्यापकसंग छलफल गर्ने दिन तोकिएका छन् । विद्यालयमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा विशेष अभिरुची रहेकाले त्यसका लागि शैक्षिक क्यालेण्डरमै दिन तोकिएको वडाध्यक्ष श्याङ्वाले सुनाए ।
उनले भने हरेक महिना पालैपालो विद्यालयमा महिनामा एक दिन सांस्कृतिक कार्यक्रम, एक दिन हाजिरिजवाफ, एक दिन वक्तृत्वकला, एक दिन खेलकुद प्रतियोगिता, एक दिन निवन्ध लेखनलगायतका गतिविधि राखिएका छन् । यसरी विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरर्गतका प्रतियोगिता हुँदा पहिलो, दोश्रो र तेश्रो हुनेलाई शैक्षिक सामाग्री पुरुस्कार दिने व्यवस्था पनि वडाले मिलाएको उनले बताए ।
अतिरिक्त क्रियाकलाप मात्र होइन विद्यालयको शैक्षिक गुणस्तर सुधार्न वडाध्यक्ष श्याङ्वाको उत्तिकै चिन्ता रहेको पाइएको छ । त्यसैले त उनले शैक्षिक क्यालेण्डरमा विद्यालयमा वडाध्यक्षकै रोहवरमा अभिभावक र शिक्षक अन्तरक्रिया गर्ने दिन पनि तोक्न लगाएका छन् । वडामा पर्यटनको सम्भावना, कृषिको सम्भावना रहे पनि सीमित आय भएकाले सोचेजति गर्न नसकेको उनले गुनासो गरे । भने ‘मैले नगर प्रमुखलाईलाई जथाभावी बजेट छर्ने योजना नराखौं, उपलब्धिमूलक र देखिने किसान केन्द्रीत कार्यक्रम राखौं भनेर सुझाव दिए पनि सुन्नु भएन । मेरो यस्ता कुरामा उहाँ रुष्ट हुनुहुन्छ ।’
यो पाँच वर्षे कार्यकालमा टुटेश्वर र गढन्ताबीचको फुटवल मैदानलाई रमणीय पिकनिक स्पट बनाउने र ढुङ्ग्रेबाट जंगलको पैदल यात्रा गर्दै माथि डाडामा गएर दृश्यावलोकन गराउने उनको सपना छ । यत्ति दुई कुरा गर्न सके आझेलमा परेको यो वडामा प्रर्यटकीय गतिविधि बढ्ने उनको बुझाई छ । ढुङग्रेबाट तीन घण्टा जंगलको उकालो हिडेपछि हर्दिडाडा पुगिन्छ र त्यहाँ पुगेर दक्षिण फर्केर हेर्दा बर्दिवासको सम्पूर्ण भूभाग मात्र होइन आधाउधि महोत्तरी जिल्लाको भूभाग देखिने उनले बताए । अग्लो डाडा भएकाले चिसो हावाको मज्जा त आउनै भयो । टुटेश्वरनाथको महिमाको प्रचार–प्रसार र भौतिक संरचनाको विकास, हर्दिडाडासम्मको हाइकिङ मार्ग बनाउन सके बर्दिवास आउने पर्यटकलाई एक दिन यता भुलाउन सकिने उनी बताउछन् ।