पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव : कछुवाजस्तो टाउको भित्र र बाहिर ननिकाल्नोस् हिम्मत छ भने ८४ को चुनावमा टेष्ट गर्नुस

banner

बर्दिवास, २२ फागुन । नेकपा (एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कछुवाको जस्तो घरी न घरी टाउको निकाल्ने र लुकाउने नगर्न सुझाव दिएका छन् । गौशाला नपा –१ इटाटारमा नवनिर्मित नेपाल पल्स एण्ड पेपर ईन्डष्ट्रिज पा.लि.को उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने ‘किन कछुवाकोजस्तो टाउको भित्र र बाहिर गर्नु पर्यो ? जनमत आफूसंग छ भन्ने लाग्छ भने ८४ मा टेष्ट गरे भइहाल्यो नि ?’

लोकतान्त्रिक मुलुकमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने छुट सबैलाई हुन्छ । पूर्वराजलाई पनि आफू लोकप्रिय छुजस्तो लाग्छ भने चुनावमा प्रतिस्पर्धा गर्न उनले आह्वान गरे । ‘कता कता सुन्छु कुर्सीमा बसाउने रे !’ प्रधानमन्त्री ओलीले भने ‘कुर्सीमा बस्ने सबै राजा हुने भए यहाँ मञ्चमा त्यहा तल पनि तपाईहरू कुर्सीमा बस्नु भएको छ । तपाईहरू सबै राजा हुनु भयो त ?’ राजलाई घोष्ट (छायाँ) अघि सार्ने होइन आफू अघि सर्न उनले पूर्वराजालाई चुनौती दिए । उनले पूर्व राजालाई चुनावमा आउन चुनौती दिदैं भने ‘पार्टी खोल्नुस, खोलेकै छ त पार्टी त्यसलाई आफ्नो भन्नोस् न !’

अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिदै राजा हुने कोही जतिसुकै क्षमता भए पनि रैती भएर बस्ने प्रणाली स्वीकार्य नहुने उनले बताए । प्रधानमन्त्री ओलीले भने ‘अब नेपाली जनताले राजतन्त्र स्वीकार्दैन । राजतन्त्र मान्दैन र हाम्रो संविधानले राजतन्त्र चिन्दैन ।’ फेरि राजा भएर रैती बनाउँछु र फेरि अढाइसय वर्ष खान्छु भनेर नसोच्न उनले सुझाव दिए । नेपाली जनताको चेतना धेरै अघि बडेकाले बेलैमा होस पुर्याउन उनको सुझाव थियो ।

सोझा घलेहरूलाई झाडीमा लुकेर बसेर अगाडि गएकालाई छ्यापछ्यापी काटेर राजा हुने युग सकिएको प्रधानमन्त्री ओलीको कथन थियो । राजतन्त्रको जन्म नै षडयन्त्रबाट भएको उनले जानकारी दिए । लिगलिगकोटमा झाडीबाट जो अगाडि आउँछ त्यसलाई काटेर कुदेर गएर कुर्सीमा बसेर राजा भएजस्तो जमाना नरहेको बताउँदै उनले भने ‘झाडीबाट निश्केर कुदेर कुर्सीमा बसेर राजा बनुँला भन्ने सोचेको होला, अब ती जमाना गए ।’

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नवनिर्मित उद्यागका अध्यक्ष चन्द्र ढकालको अध्यक्षता भएको सो उद्घाटन कार्यक्रममा संघीय श्रममन्त्री शरतसिंह भण्डारीले आफ्नो गृह जिल्लामा देशकै ठूलो पेपर मिल्स स्थापना भएकामा खुसी व्यक्त गरे । मन्त्री भण्डारीले प्रधानमन्त्रीको प्रशंसा गर्दै भने ‘उहाँ भिजनरी प्रधानमन्त्री हो । उहाँले ‘सुखि नेपाली समृद्ध नेपाल’ बनाउने सपना देख्नु भएको छ । समृद्ध नेपाल बनाउने उहाँसंग योजना छ ।’ मधेशको विकासमा उहाँको ठूलो योगदान रहेको बताउँदै मन्त्री भण्डारीले भने ‘महोत्तरीको भिट्ठामोरदेखि चीनको बोर्डरसम्म चार लेनको बाटो बनाउने योजना उहाँको छ । यो पुरा भए महोत्तरीको विकासमा ठूलो फडको हुनेछ ।’

नवनिर्मित पल्स एण्ड पेपर ईन्डष्ट्रिज २०७८ मा साउनमा सुरु भएर २ अर्बबढीमा निर्माण सम्पन्न भएको हो । देशमै अहिलेसम्मको ठूलो यो पेपर मिल्सले दैनिक ७५ क्विन्टल कागज उत्पादन गर्ने उद्यागी चन्द्र ढकालले जानकारी दिए । यो उद्योगमा प्रतक्ष्य ३०० बढीले रोजगारी पाउने र अप्रतक्ष्य हजारबढीले रोजगारी पाउने उद्योगी ढकालले बताए । रोजगारीमा स्थानीय त्यसमा पनि महिलालाई प्राथमिकता दिने उनले जानकारी दिए । खेर गएका, च्यातेर फालेका कागजलाई संकलन गरेर प्रशोधन गरी नयाँ कागज तयार गर्ने यो मुलुकको पहिलो उद्योग भएको उद्यागी ढकालले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार