नामको उल्टो काममा पनि प्रंशसा पाउने रेडियो रुपान्तरण (भिडियोसहित)

banner

बर्दिवास, २८ फागुन । गौशाला बजारमा स्थापना भएको एउटा एफएमको नाम हो रेडियो रूपान्तरण, तर उसले नामभन्दा उल्टो काम गरेको पाइएको छ । रूपान्तरणको अर्थ हुन्छ रूप + परिवर्तन = रूपान्तरण, तर, यो रेडियाले परम्रागत होलीको संरक्षण गर्ने उदेश्यले महोत्सवको आयोजना गरेकाले नामभन्दा उल्टो काम देखिएको हो ।

उल्टो काम गर्दा पनि सो रेडियोले प्रंशसा पाइरहेको छ । होली महोत्सव आयोजना गरेर सो रेडियोले हरेक पुराना वस्तु त्याज्य हुदैनन भन्ने सन्देश दिन खोजेको देखिएको छ । महोत्सवमा शुभकामना दिनेले यो विषय उठान नगरे पनि यसको सन्देश यही हो भन्न गाह्रो थिएन । किनभने सो महोत्सवको आकर्षण भनेको होली गायन प्रतियोगिता थियो ।

आजभन्दा १५/२० वर्ष पहिलेसम्म खासगरी श्रीपञ्चमीदेखि मधेशका गाउँवस्ती होलीका ‘राम खेलत होली अवधमे ….’ जस्ता गीतले ले गुञ्जायमान हुन्थे । तर बढदो आधुनिकीकरण र फिल्मको नक्कल गर्ने परम्परा हावी हुँदै जाँदा यो लोक शैलीको होली पनि लोप हुने स्थितिमा पुगेको छ । रेडियो रूपान्तरणले त्यही लोक संस्कृति जगेर्ना गर्ने अभिप्रायले होली महोत्सव आयोजना गर्ने गरेकाले प्रसंशा पाउदै आएको हो ।

‘रूपान्तरण त हाम्रो आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा पो हुनु पर्छ त !’ भन्ने तर्क गर्दै महोत्सवका अतिथि पदमप्रसाद उपाध्यायले भने ‘जुन कुराले आफ्नो पहिचान, अस्तित्व र संस्कृति झल्किन्छ, त्यसलाई त जोगाउनु पर्छ । यो रेडियो रुपान्तरणले ठिक बाटो समातेको छ ।’ आजकल होलीमा भड्किलोपन आएकामा चिन्ता व्यक्त गर्दै उनले भने ‘पहिले श्रीपञ्चमीदेखि नै दिनभरी खेतवारीको काम सकेर साँझ टोलछिमेकका साथी जम्मा भएर हार्मोनियम, ढोलक, डफलु र झ्याली बजाएर होलीका गित गायर वातावरण नै होलीमय बनाइन्थ्यो ।’ उपाध्ययाले भने ‘अहिले ती सबै हराए, पछिल्लो पुस्तालाई त थाहा पनि छैन, होलीको गीत कस्तो हुन्छ भनेर, भिगे रे चोली ….जस्ता हिन्दी गीतमा उफ्रिन्छन् आजका पुस्ता ।’

महोत्सवमा निम्त्याइएका अर्का अथिति नेकपा(एमाले) का नेता शंकर महतोले ‘हामी केटाकेटी हुँदा होली आउन लागेछ भनेर बाउ, काकाहरू जम्मा भएर डफलु पिट्दै, झ्याली बजाउँदै राम खेलत होरी …… वा जोगिरा सररर.. मा रमाइला सवाल–जवाफ गर्न थाले पछि थाहा पाइन्थ्यो, अहिले बजारमा टिसर्ट देखिन थालेपछि थाहा हुन्छ ।’ अहिले हरेक चाड पर्व कहिले हो भन्ने कसैलाई सोध्नु पर्दैन बजारले सम्झाइदिने गरेको बताउँदै महतोले भने ‘बजारबाद हावी हुँदा स्वभाविकरूपमा संस्कृति, परम्परा, पहिचान लोप हुन्छ । रूपान्तरण रेडियोले लोक संस्कृति जगर्ने गर्ने जुन प्रयत्न गरेको छ, त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ ।’ होली पर्वको सन्देश भनेको शक्तिको दुरुपयोगले उल्टो परिणाम दिन्छ भन्ने रहेको जानकारी दिदैं उनले भने ‘होलिकाले आगोबाट नजल्ने आफूमा भएको शक्ति दुरुपयोग गरेकाले अन्ततः उनकै विनास भएको हो ।’

कसैले पनि आफूले प्राप्त गरेको विशेष शक्ति, अधिकार, योग्यता जनहितमा गर्नु पर्दछ, समाज कल्याणका लागि गर्नु पर्दछ भन्ने सन्देश होलीले दिने बताउँदै नेता महतोले भने ‘शक्तिले मात्तिएर दुरुपयोग गर्न लागे आफ्नै विनास हुन्छ, जस्तो होलिकाको भयो ।’

सो महोत्सवमा भएको लोक होली गायनमा ६ टोलीले सहभागिता जनाउने जानकारी दिए पनि २ टोली मात्र उपस्थित थिए । प्रतियोगिताका तीन निर्णायक थिए । निर्णायकले गायनका शब्द, बाद्यवादन र भेषभुषा र प्रस्तुतीमा प्रभावकारितामा अंक विभाजन गरेका थिए । पुरस्कारमा विजेतालाई पाँच हजार र उपविजेतालाई दुई हजार निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार