
नाम नेकपा (एमाले), अर्थात माक्र्सवादी लेनिनवादी पार्टी । तर एमालेमा यो माक्र्सवादी लेनिनवादी भन्ने कुरा निकै समयदेखि साइनवोर्डमा सीमित थियो । अहिले आम नेपाली जनताले एकैलाईनमा, एकै सासमा भन्छन् –एमाले, कांग्रेस, माओवादी, रास्वपा । यी बुर्जुवापार्टीसंग एमालेको नाम किन दाज्न थालियो ? जनताले सबै पार्टी एउटै किन देख्न थाले ? अझ भनौं, भदौं २३ र २४ को आन्दोलनमा सबैभन्दा बढी एमाले, जनताको निशानामा किन पर्यो ? यसको उत्तर नखोजी अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा एमालेलाई होमे अहिले एमालेजनका घर जलेका छन्, चुनावको परिणामले घरमा झोसिएको आगोलेभन्दा बढी मन पोल्नेछ । जबकी प्रणाली जोगाउन तोकिएकै समयमा चुनाव गराउनु लोकतन्त्रपक्षधरको वाध्यता हो ।
अहिलेको अवस्था आउनुमा अध्यक्ष केपी ओलीको राष्ट्रवादी अडानले निम्त्याएको विदेशी चलखेल कारण हो भनौंला ! मलमलको राष्ट्रवादी खास्टोले ओलीलाई अझ राम्ररी सिंङारौला । तर, के यो माक्र्सवादी तरिका हो ? माक्र्सवादले त आन्तरिक कारण प्रधान हुन्छ बाह्य कारण गौण हो भन्छ होइन र ? अनि आन्तरिक कारण खोजेर त्यसको निराकरण नगरी केवल राष्ट्रवादी खास्टोले जनताको निशाना रोक्न सक्ला ? यसो भनिरहदा ओलीले गरेका नेपाल र नेपाली जनताका पक्षमा गरेका अनगिन्ती राम्रा कामलाई नजरअन्दाज गरेको अर्थ नलागोस ।
एमालेले अंगिकार गरेको सिद्धान्तले अर्थात द्वन्दात्मक भौतिकवादले हरेक मानिस होस वा वस्तुमा असल र खराव दुवै गुण विद्यमान हुन्छन् भन्छ । अनि केपी ओली कसरी सर्वगुर्ण सम्पन्न भए ? उनका खराव कुराको चर्चा किन भएन ? उत्तर सहज छ – उनी प्रसस्तीका भोका थिए र छन् । अहिले हरेकलाई पद चाहिएको छ, अनि ओलीको भक्तिगान नगरे सो इच्छाएको पद नपाइएला मात्र होइन किनारामा परिएला भन्ने धेरैलाई चिन्ता छ । त्यस्तो हुँदै पनि आएको थियो । पार्टी कमिटीहरूका भेला, वैठक हुन् वा जनसंगठनका अधिवेशनहरू ओलीको आशिर्वाद लिन भीड लाग्ने गथ्र्यो । उनी पनि के कम जसले मधुर स्वरमा मौलिक ढंगले प्रसस्ती गाउँछ उसैलाई बरदान दिन्थे । समग्रमा भन्दा ‘दासत्व’ स्वीकार गर्न नसक्नेलाई, आलोचनात्म चेत भएकालाई पार्टीमा कुनै ठाउँ थिएन र उनी अध्यक्ष रहुञ्जेल हुँदैन पनि ।
कमिटी प्रणाली ध्यस्त छन् । कुनै पनि संगठन वा पार्टीको कुनै कमिटीमा कुनै विषयको छलफल बहस हुन छोडेका थिए । हरेक कमिटीका हरेक वैठक ओलीको प्रसस्ती गाएर सूरु हुने र प्रसस्ती गाएरै सकिने गरेका थिए । यतिसम्म हुन थालेको थियो कि आफै सहभागि वैठकले गरेका निर्णय सदस्यले सर्कुलर हेरे थाहा पाउनु पर्ने स्थिति थियो । पदका लागि नेताको भजन किर्तन गर्नु कार्यकर्ताको नियती बनेको थियो र छ ।
जनताले नचिन्ने वा भनौं जनतामा नभिजेको मानिसले नेताको चाकडीको भरमा टिकट पाउने र त्यसको प्रचार–प्रसार गर्न कार्यकर्तालाई बाध्य पार्ने काम भएपछि कार्यकर्ता जनमुखि हुन छोडेर नेतामुखि भएका थिए र छन् । पार्टी वा संगठनको कुनै पदमा पुग्नु भनेको जिम्मेवारी बढ्नु होइन कि तक्मा पाउनु सरह बनेको थियो । कामको नाममा सिन्को नभाच्ने वा आफूले ओगटेको पदको जिम्मेवारी के हो थाहा नभएरै कार्यकाल गुजारे पनि ऊ आगामी दिनमा सोभन्दा माथिल्लो पदमा पुग्थ्यो, योग्यताको नाममा भक्तिगान गाउन सक्ने चाँही हुनु पर्दथ्यो ।
आगामी दिनमा ओलीका सकारात्मक पक्षका धेरै गाँथा कोरिएलान, कोरिनु पनि पर्छ । तर उनले एमाले पार्टी जीवनमा पुर्याएको क्षतीको वारेमा पनि त्यो भन्दा धेरै शब्द कोरिनु पर्छ । सबैभन्दा ठूलो कुरा त हिजो जुन वर्गले पार्टीलाई यो ठाउँमा पुर्याएका थिए । जुन वर्गको आशा, भरोसाको केन्द्र थियो एमाले आज त्यो वर्गसंगको सम्वन्ध लगभग विच्छेद भएको अवस्था छ । ओलीलाई विदा गरेर आउने नेतृत्वले त्यो वर्गसंगको टुटेको सम्वन्ध जोडनु ठूलो चुनौती छ । कम्युनिष्ट पार्टीको पुँजी भनेको आधारभूत वर्गको माया, र भरोसा हो । नीति प्रधानता, साहुहिक नेतृत्व, जनवादी केन्द्रियता, आलोचना आत्मलोचनाजस्ता कुरा पार्टीमा पुनर्वहाली गर्न सकिएमा एमालेलाई कसैको अभाव खड्किने छैन र नेतृत्वको अभाव पनि कहिले आउने छैन । आगे नेताहरूको मर्जी …..
