
बर्दिवास, १८ वैशाख । आज वैशाख शुक्ल पूर्णिमा परेकाले धेरै चाड पर्वको संयोग पनि परेको छ । खासगरी आजै उभौली पर्व, बुद्ध जयन्ती , श्रमिक दिवस , चण्डी पूर्णिमा, पूर्णिमाव्रत, कूर्म जयन्ती, गोरखनाथ जयन्ती, बैशाख स्नान समाप्ति पर्व परेका छन् ।
यहाँ कुरा गरौं कूर्म जयन्तीको । प्राचिन वैदिककालमा एकपटक देवता र दानवहरू शक्तिको परीक्षण गर्न समुन्द्र मन्थन गर्ने सहमति जनाएका थिए । मन्दराचल पर्वतलाई मदानी बनाएर र शेषनागलाई डोरी बनाई समुद्र समुन्द्र मन्थन गरिँदै थियो । तर, मन्थनको क्रममा मन्दराचल पर्वत गह्रौं भएर समुन्द्रको पिँधमा डुब्न थाल्यो । यस समस्यालाई समाधान गर्न भगवान् विष्णुले कछुवाको रूपमा अवतार लिएर आफ्नो कठोर पिठ्युँ मन्दराचलको आधारमा राख्नुभयो र पर्वतलाई डुब्नबाट जोगाउनु भयो । यसरी समुन्द्र मन्थन सहज भयो ।
समुन्द्र मन्थनबाट सर्वप्रथम हलाहल विष निस्कियो, जुन शिवजीले पिई समस्त सृष्टिलाई बचाउनु भयो । त्यसपछि लक्ष्मी, कामधेनु गाई, रम्भा ९अप्सरा०, उच्चश्रवा घोडा, कौस्तुभ मणि, पारिजात, कल्पवृक्ष लगायत १३ रत्नहरू निस्किए । अन्ततः अमृत पनि उत्पन्न भयो ।
यहि कार्य वैशाख शुक्ल पूर्णिमाका दिन सम्पन्न भएकोले यस दिनलाई विशेष मानिन्छ ।

