
बर्दिवास, १० अजोज । जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई पद रिक्त गर्न दबाब बढेको छ । विकसित परिस्थितिबाट निकास दिन भन्दै कांग्रेस, एमाले र माओवादी केन्द्रलगायत पार्टीभित्र शीर्ष नेतृत्वले पद छाड्नुपर्ने दबाब बढेको हो ।
माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद छाड्नुपर्ने भन्दै औपचारिक रूपमै प्रस्ताव पेस भएको छ भने कांग्रेसमा पनि विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन जारी छ । एमालेभित्र मधुरो सुनिँदै आएको नेतृत्व परिवर्तनको माग पनि बिस्तारै ठुलो हुँदै गएको छ । नेताहरूले खुलेर नेतृत्व परिवर्तनसहित पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक रूपमै राख्न थालेका छन् ।
माओवादीमा प्रचण्डलाई काउन्टर
बिहीबार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि फरक मत प्रस्तुत भएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पद त्याग गर्दै कार्यवाहक तोकेर अघि बढ्न प्रस्ताव गरेका हुन् । पूरक प्रतिवदेन भन्दै पेस गरिएको फरक मतमा उनले पार्टी पुनर्गठनको सम्बन्धमा अध्यक्ष प्रचण्डले राखेका प्रस्तावहरूमा असहमति दर्ज गरेका छन् ।
विगतमा प्रचण्डको एकल प्रस्ताव आउने गरेकामा यस पटक भने वरिष्ठ उपाध्यक्षले छुट्टै प्रस्ताव ल्याएर काउन्टर दिएका हुन् । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् । त्यसका लागि केन्द्रीय कमिटी विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने उनको प्रस्ताव छ ।
एमालेमा बाक्लिदैं वलीविरुद्धको आवाज
सत्तारुढ एमालेमा पनि नेतृत्व पुनर्गठनका लागि नेताहरूले आवाज उठाइरहेका छन् । संस्थापन पक्षका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरूले नेतृत्वको निरन्तर रक्षा गर्दै आए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतले भने पार्टी पुनर्गठनका लागि दबाब बढाइरहेका छन् । तर, सो आवाज संगठित रूपमा भने उठ्न सकेको छैन । बिहीबार एमाले सचिव योगेश भट्टराईले पनि पार्टी पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका हुन् ।
कांग्रेसमा हस्ताक्षर अभियान
नेपाली कांग्रेसमा विशेष महाधिवेशको माग भइरहेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारलगायत नेताहरू विशेष महाधिवेशनको पक्षमा छन् । उनीहरूले सार्वजनिक रूपमा स्पष्ट धारणा राख्दै आएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समेत उनीहरूले सो प्रस्ताव राखिसकेका छन् । तर, संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशन गरेर तत्कालै नेतृत्व हस्तान्तरण गर्नु नहुने पक्षमा छन् । हाल महामन्त्रीद्वयले पार्टी विधानतः विशेष महाधिवेशनको माग गर्नका लागि नेताहरूको हस्ताक्षर संकलन गरिरहेको स्रोतले जानकारी दिएको छ ।
