सांसद महतोको अभिव्यक्तिले ल्यायो तरंग

banner

बर्दिवास, १२ जेठ । महोत्तरी –१ का संघीय सांसद प्रमोदकुमार महतोले मंगलबार संसदमा बोलेका कुराले स्थानीयमा नयाँ तरंग ल्याएको छ । सांसद महतोले संसदमा कालापानी घटनाको विषय उठाउने क्रममा बर्दिवास –३ का वडाध्यक्षले स्थानीयलाई उक्साउने काम गरेको आशयको अभिव्यक्ति दिएका थिए ।

वनका कर्मचारीले सोमबार कालापानीमा स्थानीयको घरमा गएर ‘लालपुर्जा नहुनेले एक हप्ताभित्र बस्ती खाली गर्नुस्’ भनेपछि विवाद उत्पन्न भएको थियो । विवादपछि यसको वास्तविकता आधिकारिक रूपमा नआएसम्म ‘तपाईहरू जान पाउनुहुन्न’ भन्दै स्थानीयले ती कर्मचारीलाई रोकेका थिए । यहीबीच साँझ प्रहरीले बल प्रयोग गरी ती कर्मचारी छुटाएर लगेको थियो । बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर र दुई सेल अश्रुग्यास प्रहार गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो ।

मंगलबार बर्दिवास नगरपालिकाका प्रमुखसहित स्थानीय र महोत्तरी जिल्ला प्रमुख जिल्ला अधिकारी, जिल्ला वन कार्यालयका प्रमुख, प्रहरी उपरीक्षकसमेतको उपस्थितिमा ती कर्मचारीलाई त्यस्तो कुनै सूचना दिन नपठाएको, हाल वस्ती उठाउने कुनै योजना नरहेको र अफ्ना कर्मचारीले गरेको गल्तीले स्थानीयमा पर्न गएको तनाव, क्षतीमा जिल्ला वनका प्रमुखले माफी मागेपछि विपी राजमार्ग सुचारु भएको छ ।

संघीय सांसद महतोले घटनाको वास्तविकता नबुझी वडाध्यक्षको उक्साहट भन्ने शब्द प्रयोग गरी सिंगो देशलाई ढाँटने र वडाध्यक्षलाई बदनाम गर्ने काम गरेकाले स्थानीय तरंगित भएका हुन् । सामाजिक सञ्जालमा संघीय सांसदलाई लक्षित गर्दै टिप्पणीको ओइरो लागेको छ । धेरैजसो टिप्पणीकर्ताले ‘कसले लेखिदिएको स्क्रिप्ट पढेको ?’ भन्दै प्रश्न गरेका छन् भने कतिपयले रास्वपाका स्थानीय कार्यकर्तालाई आफ्ना सांसदलाई सम्झाउन आग्रह गर्दै नसके अरुले सम्झाउने चेतावनी दिएका छन् ।

हालै भएको बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेजीले रास्वपाप्रति रुष्ट स्थानीयमा संघीय सांसदको यो अभिव्यक्तिले आगोमा घ्यु थप्ने कार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार