
बर्दिवास, २२ जेठ । भारतको केरलामा हिजो(बिहीबार) भित्रिएको मनसुन नेपाल कहिले प्रवेश गर्ला भनेर मौसमविद्ले अनुमान लगाउन थालेका छन् । नेपालमा मनसुन भित्रिने सरदर समय १३ जुन अर्थात ३० जेठ हो ।
तर यसपटक भारतको केरलामै तीन दिनपछि अर्थात ४ जुनमा भित्रिएकाले नेपालमा पनि त्यसै अनुकूल हुने अनुमान मौसमविद्को छ । केरलामा मनसुन भित्रिने समय १ जुन हो तर यसपटक तीन दिन ढिलो भित्रियो । केरलाबाट नेपालको कोशी प्रदेश आइपुग्न सरदर १० लाग्ने गरको छ । यसअनुसार नेपालमा १४ वा १५ जुन अर्थात असार लाग्न सक्ने सामान्य अनुमान हो ।
मनसुनको गतिअनुसार नेपाल प्रवेशमा लाग्ने समय घटबढ हुने गरेको मौसमविद् बताउँछन् । केरलामा भित्रिएको एकसातामै नेपाल प्रवेश गर्न पनि सक्छ मनसुन । यसको गति एकैनास रहँदा छिटो हुने र बीचमै गति सुस्त हुँदा दुई वा चार दिन ढिलो पनि हुनसक्ने हुन्छ । तर, यसपटक अबको एक सातामा नेपालको पूर्वी भागमा मनसुन भित्रिने अधिक सम्भावना भएको मौसमविद्को आँकलन छ ।
