
बर्दिवास, २६ जेठ । सुधन गुरुङ ४७ दिनपछि फेरि गृहमन्त्रीको कुर्सीमा फर्किएका छन्, सरकारगठित छानबिन समितिले ‘चोख्याए’सँगै । पहिला गृहमन्त्री हुँदा ‘विवादित’ भएपछि २७ दिनमै राजीनामा दिन बाध्य भएका थिए ।
उनीमाथि सम्पत्ति विवरण तथा हाल सम्पत्ति शुद्धीकरणको कसुरमै थुनामा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएपछि राजीनामा दिन बाध्य भएका थिए । उनले गएको वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
गृहमन्त्री गुरुङको राजीनामापछि छानबिन गर्न सरकारले पूर्वन्यायाधीश अच्युत भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त छानबिन समितिले गुरुङको सम्पत्तिमा कुनै कैफियत नदेखिएको रिपोर्ट पेस गरेपछि गृहमन्त्रीमै फर्किएका हुन् । यद्यपि, उक्त छानबिन प्रतिवेदन सार्वजनिक भएको छैन ।
उता, राष्ट्रिय मानवअधिकार आयोगले चाहिँ जेनजी प्रदर्शनी र विध्वंशमा संलग्नता देखाएको छ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन अराजक र हिंसात्मक हुनुको पछाडि गुरुङको भूमिका मुख्य रहेको उल्लेख गरेको छ । जेठ १३ मा आयोगले प्रतिवेदनको सार सार्वजनिक गर्दै सुधनमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो ।
गुरुङले भदौ २३ गतेको जेनजी प्रदर्शनमा भिडको नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग झडप सुरु भएको उल्लेख प्रतिवेदनले गरेको छ ।
भदौ २३ गते एभरेस्ट होटेलअगाडि अन्दाजी २०–२५ हजार भिड जम्मा भइसकेपछि करिब १२ बजेको समयतिर ‘हामी नेपाल संस्था’का सुधन गुरुङले भिडको नेतृत्व गरेको आयोगले प्रतिवेदनमा पुष्टि गरेको छ ।
“यसरी निज गुरुङले नेतृत्व लिएपश्चात् प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भई हुलदंगामा परिणत भएको देखिन्छ । तत्पश्चात् मात्रै सुरक्षाकर्मीबाट अश्रु ग्यास र पानीको फोहोरा प्रयोग भएको पाइयो,” प्रतिवेदनमा भनिएको छ ।
यसबाहेक आयोगले जेनजी अभियन्ता रक्षा बम लगायतको समूह र सुधन गुरुङबीच गत भदौ २३ गते विवाद भएको समेत खुलासा गरेको छ ।
गुरुङसहित प्रदर्शनमा सहभागी अन्य जेनजी अभियन्तामाथि समेत अनुसन्धान गर्न आयोगले सरकारलाई भनेको छ । तर, प्रधानमन्त्री बालेन शाहले संवैधानिक आयोगको सिफारिस बेवास्ता गर्दै गृह मन्त्रालयकै जिम्मेवारीमा सुम्पेका छन्
