
बर्दिवास । सोमबार राति डेब्युटन्ट केप भेर्डेसँग प्रतिस्पर्धा गरिरहँदा स्पेनको लक्ष्य फिफा विश्वकप २०२६ मा सानदार सुरुआतको हुनेछ । समूह ‘एच’को यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ ।
ला रोहाले केप भेर्डेपछि समूहमा साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ । लुइस डी ला फ्युन्टेको नेतृत्वमा रहेको स्पेनलाई फ्रान्ससँगै उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ । फ्युन्टेकै नेतृत्वमा स्पेनले युरोपियन च्याम्पियनसिप २०२४ को उपाधि जितेको थियो । जतिबेला फाइनलमा स्पेनले इङ्ल्यान्डको चुनौती पन्छाएको थियो ।
स्पेन विश्वकप २०१० को च्याम्पियन हो । तर, पछिल्ला तीन विश्वकप भने टोलीका लागि विर्सनलायक रह्यो । उपाधि रक्षाको अभियानमा रहँदा स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । त्यसपछि २०१८ र २०२२ मा टोलीको यात्रा अन्तिम १६ सम्म मात्रै सीमित रह्यो ।
विश्वकपअघि स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुमाथि ३–१ को जित हासिल गर्यो । पछिल्ला १० खेलमा स्पेन अपराजित छ । टोलीले १० मध्ये ७ खेल जितेको छ ।
समूह विजेताका रुपमा हेरिएको स्पेनले यदि केप भेर्डेको चुनौती नपन्छाउने हो भने त्यो सबैका लागि आश्चर्यको विषय बन्नेछ ।
केप भेर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक आमने–सामने हुँदैछन् । कागजमा यी दुईबीचको अन्तर एकदमै धेरै छ ।
