
बर्दिवास, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले बर्दिवास –८ का एक वडासदस्यलाई वडा कार्यालयमै कुटपिट गरेका छन् । विद्यालयको जमिनको विषयमा वडा कार्यालयले बोलाएको सर्वपक्षीय भेलामा रास्वपाका महाधिवेशन प्रतिनिधिसमेत रहेका बर्दिवास –८ कै पिताम्वर महतोले सोही वार्डका जनप्रतिनिधि प्रदीप तिमलसिनालाई कुटपिट गरेका हुन् ।
वडाअध्यक्ष शमसेर लामाको कार्यकक्षमा बैठक चल्दै गर्दा रास्वपा नेता महतोले एक्कासी वडासदस्य तिमलसिनालाई कन्चटमा मुक्का हानेपछि सो बैठकमा उपस्थित अन्यले हस्तक्षेप गरेकाले झगडाले उग्ररूप नलिएको बताइएको छ । ‘वैठकमा सहभागिले आ–आफ्नो धारणा राखिरहेका थिए । यसैक्रममा वडा सदस्यले पनि आफ्ना ेधारणा राख्दै गर्दा रास्वपा नेता महतोले एक्कासी आफ्नो स्थानबाट उठेर उनको कन्चटमा फाइट हाने’ सहभागि स्थानीय राधारमण रेग्मीले भने ।
कन्चटमा मुक्का लागेपछि रन्थनीयका तिमलसिनाको बर्दिवास अस्पतालमा उपचार भइरहेको छ । बर्दिवास नगरपालिकाले पनि यो घटनाप्रति खेद व्यक्त गर्दै कुटपिट गर्ने रास्वपा नेता महतोलाई कानुनी कारवाहीको माग गरेको छ । बर्दिवास नगरपालिकाले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारवाहीको माग गर्दै सबैलाई सबैलाई संयममता अपनाउन अनुरोध गरिएको छ ।
रास्वपा नेता महतोले वर्षैदेखि विद्यालयको करिव १ विघा जमिनलाई आफ्नो भन्दै कमाई खाइआएका थिए । गत वर्षमात्र उनले सो जमिनको उत्खनन गरी १० सौं लाखको माटो बिक्रि गरेका थिए । उनले सो जमिनमा माटो खन्दा जमिन खाल्डो भइ सधियारहरूको जमिनको ढिस्को लडने, वर्षादमा खाल्सो परेर जमिननै काम नलाग्ने हुन थालेपछि सधियारले नै उनीवरुद्ध नगरपालिकामा उजुरी दिएका थिए ।
हाल रास्वपाका महाधिवेशन प्रतिनिधि बनेका महतो यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट प्रदेश सभासदस्यमा परराजित उम्मेवार हुन् । लोसपाको कोटाबाट महोत्तरीको भूमि आयोगका अध्यक्षसमेत रहेका महतोले आफू भूमि आयोगको अध्यक्ष रहँदा सो जमिन अव्यवस्थित बसोवासी भनेर आफ्नो नाममा दर्ता गर्न खोजेको पनि भेटिएको छ । मालपोतको श्रेस्तामा सरकारी ऐलानी उल्लेख भएको सो जमिनको २०२४ सालकै नापीको फिल्डबुकमा जग्गाधनी स्कूल जनिएको छ ।
यसरी विद्यालयको जमिन व्यक्तिले अधिकारको दुरुपयोग गरी आफ्नो नाममा पार्न खोजेको, लाखौ रुपैयाँको माटो बिक्रि गरी करोड बढी अनिमितता गरेको भन्दै केही महिना अगाडिदेखि वडा सदस्य तिमलसिनाले विरोध गर्दै आएका थिए । यस विषयमा पटक पटक सामाजिक सञ्जालमा पनि लेखेकाले उनीप्रति पहिलेदेखि महतो आक्रोशित भएको बताइएको छ । ‘यसले फेसबुकमा लेखेर मेरो चरित्र हत्या गर्ने प्रयास गर्यो’ महताले त्यहाँ भनेको प्रतक्ष्यदर्शी बताउँछन् ।
