
बर्दिबास, १७ असार । बर्दिबास –५, चेरुकी प्रतिष्ठा आचार्य मिस नेपाल २०२६ को अन्तिम २४ प्रतिस्पर्धी (टप–२४) मा छनोट भएकी छन् ।
आयोजक द हिडन ट्रेजरले मंगलबार ललितपुरस्थित द प्लाजामा आयोजित कार्यक्रममा अन्तिम २४ प्रतिस्पर्धी सार्वजनिक गर्दै प्रतिष्ठालाई प्रतियोगी नम्बर १० प्रदान गरेको हो ।
२० वर्षीया प्रतिष्ठा बलराम आचार्य र सीता आचार्यकी छोरी हुन् । हाल स्नातक तहमा अध्ययनरत उनी मोडलिङप्रति रुचि राख्छिन् र हाल भक्तपुरमा बसोबास गर्दै आएकी छन् ।
यस वर्षको प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिभाशाली युवतीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतिष्ठालाई समर्थन गर्न चाहनेहरूले आयोजकले उपलब्ध गराएको क्यूआर(QR) कोड मोबाइल बैंकिङ एपमार्फत स्क्यान गरी प्रति भोट १० रुपैयाँ शुल्क तिरेर मतदान गर्न सक्नेछन् ।
मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आगामी साउन महिनामा ललितपुरस्थित द प्लाजामा आयोजना हुने छ । प्रतिष्ठा टप–२४ मा पुगेपछि बर्दिबाससहित महोत्तरीवासीले उनको सफलताको शुभकामना व्यक्त गरिरहेका छन् ।
