
बर्दिवास, १७ असार । सशस्त्र प्रहरी थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीको फैसला आंशिकरूपमा उल्टाउदै सफाई पाएकालाई पनि ५ वर्ष कैद र जन्मकैद तोकिएका केहीलाई ५ वर्ष कैदमा झारेको छ । उच्च अदालत जनकपुरमा बिहीबार न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।
फैसलामा यसअघि जिल्ला अदालत महोत्तरीको फैसलाअनुसार सफाई पाएका लक्ष्मी महतो कोइरी र पवनकुमार कापरलाईसमेत ५ वर्ष कैद तोकिएको छ । यस्तै यसअघि जिल्ला अदालतको फैसलामा जन्म कैद को सजाय सुनाइएका प्रदेशसभा सांसद अभिराम शर्मा, जलेश्वर नपाका पूर्वमेयर रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायसमेताई ५ वर्ष कैद तोकिएको छ । उच्च अदालतले यी प्रतिवादीले मुलुकी ऐनको ज्यानसम्वन्धि महलको १७(२) को कसुर मात्र ठहर गरेको छ ।
मुलुकी ऐनको ज्यानसम्वन्धि महलको १७ मा ‘ज्यान मार्नालाई मतलबमा भने पसेको तर मुख्य भै बचन पनि नदिने, हात हतियार पनि नछोड्ने, जीउमा पनि नछुने देहायका अवस्थाका अरु मतलबीहरुलाई ज्यान मरेको रहेछ भने देहाय बमोजिम र ज्यान मरेको रहेनछ भने देहायमा लेखिएको सजायको आधा सजाय गर्नु पर्छ’ भन्ने उल्लेख छ भने यसको २ नम्वरमा ‘ घेरा दिने, बाटो, गौडा छेक्ने वा भाग्न उम्कन नपाउने समेत गैह्र काम गरी मार्ने संयोग पारिदिनेलाई पाँच वर्ष कैद गर्नु पर्छ’ भन्ने उल्लेख छ ।
उच्च अदालत जनकपुरले यही मुद्दाका अन्य प्रतिवादी प्रदीप साह माझी, संजयकुमार साह र मोहन ठाकुरको हकमा भने जिल्ला अदालतकै निर्णय सदर गरी जन्मकैदको फैसला सुनाएको छ । यी तीन प्रतिवादीलाई मुलुकी ऐनको ज्यान सम्वन्धि महलको १ नम्वरको कसुर गरेकाले १३(३) वमोजिमको सजाय तोकेको उल्लेख गरिएको छ । ज्यान सम्वन्धि महलको १३(३) मा ‘लाठा ढु·ा र साधारण सानातिना हातहतियारले कुटी हानि रोपी घोची वा अरु ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हूल भै मारेमा यसैले मारेको वा यसको चोट्ले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्व सहित जन्म कैद गर्नु पर्छ । सो बाहेक अरुलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हात हतियार छाड्ने कसै उपर कुनै प्रमाणबाट देखिने ठहर्न नआएमा सबैलाई जन्म कैद गर्नु पर्छ’ भन्ने उल्लेख छ ।
सशस्त्र प्रहरी थमन विकको संविधान जारी भएपछि त्यसको विरोधमा भएको आन्दोलनको क्रममा आन्दोलनकारीले कुटपिट गरी हत्या गरेका थिए । सुरुमा जलेश्वरको शंकर चोकमा कुटपिटमा परेका उनलाई त्यहाँबाट उद्धार गरी एम्बुलेन्समा राखेर उपचारका लागि जनकपुर लैजादै गर्दा महोत्तरीको सनुखडा भन्ने ठाउँमा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेका थिए ।
