शुक्रबारदेखि महंगिदैं विजुली

banner

बर्दिवास, ३२ असार । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट मार्फत बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) शुक्रबारदेखि लागु हुने भएको छ ।

नयाँ आर्थिक वर्षदेखि बिजुली तथा राइड सेयरिङमा भ्याट लाग्न सुरु हुने र त्यसको प्रारम्भिक तयारी सम्पन्न भएको आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

आर्थिक विधेयकमा विद्युत्‌का अन्तिम उपभोक्तालाई ५ प्रतिशतका दरले भ्याट लाग्ने व्यवस्था छ । आन्तरिक राजस्व विभागले घरायसी ग्राहकलाई अन्तिम उपभोक्ता मानेको र उनीहरूलाई मात्रै ५ प्रतिशत भ्याट लाग्ने विभागका निर्देशक पौडेल बताउँछन् । त्यसबाहेक सबै किसिमका उपभोक्ताले १३ प्रतिशतकै दरले भ्याट तिर्नुपर्ने उनले बताए ।

आर्थिक ऐनमा भएको व्यवस्था अनुसार कार्यविधि बनाएर विभागले अन्तिम उपभोक्ता भनेको के हो भन्ने परिभाषित गरेको छ ।

‘जुन उपभोक्ताले प्रयोग गरेको विद्युत् व्यावसायिक र औद्योगिक काममा प्रयोग हुँदैन, अर्थात् घरायसी काममा मात्रै प्रयोग हुन्छ, त्यसलाई अन्तिम उपभोक्ता मान्ने गरी व्याख्या भएको छ, बिजुलीको प्रयोग अन्य उत्पादनका क्रियाकलापमा हुन्छ भने त्यसलाई अन्तिम उपभोक्ता नमान्ने तय भएको छ,’ उनले भने, ‘यस विषयमा हामीले विद्युत् प्राधिकरणसँग पनि छलफल गर्‍यौं, उहाँहरूले त्यही अनुसार बिलिङ प्रणाली विकास गर्नुभएको छ ।’

राइड सेयरिङका सन्दर्भमा पनि कम्पनीहरूले त्यसैगरी बिलिङ प्रणाली विकास गरेको उनले जनाए । तर, कम्पनीको बिलिङ प्रणाली विभागको अनलाइन बिलिङ प्रणालीसँग भने जोडिई नसकेको उनको भनाइ छ ।

‘अहिले उहाँहरूले हामीले दिएको ढाँचामा बिल काट्नुहुन्छ, बिस्तारै अनलाइन बिलिङ प्रणालीमा पनि जोड्ने छौं,’ उनले भने ।

१ साउनदेखि ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकलाई ५ प्रतिशत र अन्यलाई १३ प्रतिशत भ्याट थपेर बिलिङ हुने नेपाल विद्युत् प्राधिकरणका वित्त विभाग निर्देशक गणेश लुइँटेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार