मुस्ताङका सांसदले भने -अमेरिकाले ५० वर्षको प्लान गर्दो रहेछ’

राजनीति

cia

काठमाडौं । मुस्ताङबाट निर्वाचित नेकपा एमालेका सांसद प्रेम तुलाचनले अमेरिकी हतियारको सहाराले खम्पा विद्रोह भएको स्मरण गर्दै आसन्न अमेरिका भ्रमणमा सचेत रहन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

मुस्ताङ्ग सांसद तुलाचनले अमेरिकाले ५० वर्षपछिको उद्देश्य सोचेर सैन्य रणनीति बनाउने गरेको भन्दै २०३१ सालमा मुस्ताङमा भएको खम्पा विद्रोहमा अमेरिकाले जहाजबाट हतियार झारेको र नेपाली सेनाले पछि नियन्त्रणमा लिएको स्मरण गरेका छन् ।

‘त्यसबेला तिब्बतबाट खम्पा विद्रोहीहरू हिमाली क्षेत्रमा बसोबास गरे, हजारौंको संख्यामा आएका उनीहरू हाम्रो मुस्ताङको विभिन्न ठाउँमा क्याम्प खडा गरेर बसेको मलाई याद छ । उनीहरू हिमालको खोँचतिर बसेका थिए,’ तुलाचनले विगत सम्झिए, ‘ती खम्पाहरू कहाँबाट परिचालित थिए ।

खाद्यान्न कहाँबाट आए थियो, त्यो त्यतिबेला त थाहा भएन, तर उनीहरूले चौँरी गोठ, भेडा गोठ लुटपाट गर्न थालेपछि चीनले नेपाल सरकारलाई पत्र लेखेर उनीहरूलाई तह लगाउने कि हामीले तह लगाऊँ भनेर सोध्यो, त्यसपछि नेपाल सरकारले २०३३ सालमा एक्सन लिनुपरेको थियो ।’

खम्पा विद्रोहीलाई तह लगाउनका लागि नेपाली सेना हजारौंको संख्यामा मुस्ताङ गएको आफूले देखेको पनि तुलाचनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बेलिविस्तार लगाए ।

‘पछि खम्पाका कमाण्डर वार्तामा आऊ भन्दा भन्दै पनि दुई तीनपटक समय सार्दै गए । वार्ता गरेनन्, तर पछि दार्चुलाको टिंकरमा पुगेर सेनाले कमाण्डर वाङ्दीलाई मारेको हो । हामीले त्यसबेला सुनेअनुसार ती वाङ्दी पनि अमेरिकामा तालिम गरेर आएको तिब्बतीयन कमाण्डर थियो,’ उनले स्मरण गर्र्दै भने, ‘ त्यसबेला त आकाशमा जहाज उड्थ्यो, जहाजको पुच्छरबाट हतियार झारिन्थ्यो, खम्पा हटेपछि पनि गाउँ गाउँमा लुकाएर राखेको हतियार पाइएको हामीले नै देखेको हो । त्यो इतिहास हेर्दा अमेरिकाको पोलिसी के छ भन्ने कुरा त्यो बेलादेखि नै अड्कल काटन सुरु गरिएको थियो, त्यसैले अहिले सम्झदा एसपीपीका बारेमा सचेत रहनुपर्छ किनकि अमेरिकाले त ५० वर्ष पछिको हेरेर गर्ने रहेछ ।’

सोही खम्पा विद्रोहीलाई दमन गर्न जाँदा नेपाली सेनाका धेरैले ज्यान गुमाए पछि मनाङ–मुस्ताङमा ‘हाई अल्टिच्युड’ तालिम दिन सुरु गरिएको उनको भनाइ छ ।

‘खम्पा विद्रोह नियन्त्रण गर्न जाँदा हाम्रो सेनाका धेरैजना त्यसबेला हाई अल्टिच्युडका कारण मरे, सेना धेरै मरेपछि सेनालाई हाई अल्टिच्युड तालिम दिनुपर्छ भन्ने भएको होला, अहिले प्रत्येक वर्ष हाम्रो मुस्ताङको माथिल्लो क्षेत्रमा तालिम हुन्छ र विभिन्न देशका सैनिक आउँछन्,’ उनले भने, ‘म पनि २२ वर्ष नेपाली सेनासँग काम गरेको हुनाले मलाई थाहा छ, यो तालिमचाँही मैत्रीपूर्ण हो ।’

उनका अनुसार पछिल्लो समय मुस्ताङमा ‘हाई अल्टिच्युड’ सैन्य तालिम मैत्रीपूर्ण रुपमा चलिरहेको र त्यस्ता तालिममा अमेरिकामात्र नभएर भारत, पाकिस्तान र चीनका सैनिकहरू पनि सामेल हुने गरेको उनको भनाइ छ ।

तर, खम्पा विद्रोहमा अमेरिकन सहयोग भएको र सो विद्रोहका कमाण्डर वाङ्दी नै अमेरिकामा तालिमा लिएको व्यक्ति भएकाले एसपीपी सम्झौताका बारेमा र अमेरिकाको रणनीतिबारे भने सजग हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार