राप्रपाको महिला समितिमा जगटाजगटी

राजनीति

rpp-flag

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको छलफलमा हात हालाहाल भएको छ ।

आइतबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको महिला संगठनको अनौपचारिक वैठकमा अध्यक्ष अञ्जना रावल पक्ष र कुमारी तामाङ पक्षका महिलाहरुबीच हात हालाहाल भएको हो ।

राप्रपाले महिला संगठनमा अध्यक्ष मात्र नियुक्त गरेको छ भने कार्यसमिति पनि बनेको छैन । राप्रपाको महिला संगठनले महिला हिंसा न्युनीकरणका लागि दबाव दिँदै असार २७ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

ज्ञापन पत्रको तयारीका लागि छलफल गर्न अध्यक्ष रावलले अनौपचारिक बैठक बोलाएकी थिइन् । तर बैठकको सुरुमै नेता कुमारी तामाङले माइक खोसेर बोल्न थालेको र विषय भन्दा बाहिरको मुद्दा झिकेर विवाद गरेको रावल बताउँछिन् ।

‘राप्रपाको महिला संगठनमा म एक्लै छु, तर ज्ञापन पत्र बुझाउने कार्यक्रम भएकाले औपचारिक वैठक राखेको थिएँ, तर सुरुमै कुमारी तामाङले माइक खोसेर बैठक लिड गर्नुभयो, मैले त बोल्न पनि पाइन’ रावलले भनिन्, ‘अनि कुमारी तामाङ पक्षकै एक जनाले अर्को एक जनालाई हातपात गरेपछि विवाद भएको हो ।’

महामन्त्री कुन्तीकुमारी शाहीले पनि वैठकमा सहभागी महिलालाई कुटपिट गरेको उनले बताइन् । ‘महामन्त्री कुन्ती शाहीले पनि दुई जनालाई हातपात गर्नुभयो, नेतृत्व भएपछि त्यही हिसाबको भूमिका निर्वाह गर्नुपथ्र्यो, तर देखिएन’ उनले भनिन् ।

महामन्त्री शाहीले भने महिलाहरुबीच झगडा भएपछि आफू छुट्याउन मात्र गएको बताइन् । ‘महिलाहरुको बैठकमा वादविवाद भएको रहेछ, म त अन्तर्राष्ट्रिय विभागको मिटिङमा थिएँ, अन्तिममा छुट्याउन मात्र पुगेको हुँ’ उनले भने ।

महिला संगठनको नेतृत्वम विवाद रहेको र आइतबारको छलफलमा त्यही विषयमा विवाद रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार