नेवार समुदायले यसरी मनाए गठेंमंगाः

banner

ago

काठमाडौं । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायमा घर शान्तिको कामना गर्दै गठेंमंगाः चर्‍हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । गठेंमंगाः चर्‍हे पर्व नेवारहरुको मौलिक पर्व मध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।

यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरु बताउँछन् ।

नेवार समुदायले काँचो माटोको सानो दहीको कटारो वा सलीचा ९एक प्रकारको माटोको भाँडो० मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राखी बौ वाय् ज्या अर्थात भूत मन्छाउने कार्य गर्दछन् । बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ ।

बौ वाय् ज्या सँगसँगै घर घरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीहरूले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबोटोमा लगेर राख्ने) गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ ।

गठेंमंगाः चर्‍हेकै अवसरमा भक्तपुर नगरका टोलटोलमा नर्कट र छवालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठड्याएर राखिन्छ । सो आकृतिसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवाकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको खोलामा लगेर जलाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार