एक ढिक्का हुँदै बर्दिवास कांग्रेस

छरीएका बुँनियाजस्ता भएका हामी एउटै लड्डु भयौं – हमाल, एकअर्काको अस्तित्व स्वीकार गरेर अघि बढनुको विकल्प छैन – क्षेत्री
banner

बर्दिवास, २ जेठ । नेपाली कांग्रेस बर्दिवासले एक ढिक्का भएको सन्देश दिएको छ । बर्दिवास नगर समिति तथा निर्वाचन क्षेत्रनंं १(क)को पार्टी कार्यालय उद्घाटनमा स्थानीय निर्वाचन ताकाका तिक्ततालाई थाँती राख्दै एकजुटताको सन्देश दिएका हुन् ।

सो पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस महासमिति सदस्य तथा यस क्षेत्रका कांग्रेसका वरिष्ठ नेता चिरञ्जिवी हमालले विगतमा छरीएका बुँनियाजस्ता भएका हामी अब एउटै लड्डु बनेको बताए । उनले विगतमा आफूहरू फुटेको नभई फुटाइएको बताउँदै भने ‘नेताहरूले कहाँ लिनुहुन्छ त्यस्ता फटाहा, पार्टी अनुशासन नमान्नेलाई भन्ने तर, आफूहरूले सुटुक्क फुलमाला लगाएर भित्र्याए ।’ अब विगतमा तिता कुरा विर्सेर हामी एकजुट भएर कांग्रेसलाई बलियो बनाउनुु पर्ने उनले बताए ।

त्यसलगत्तै मन्तब्य राख्दै महासमिति सदस्य तथा बर्दिवास नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले विगतबाट आफूले पनि धेरै पाठ सिकेको बताउँदै अब एकले अर्काको अस्तित्व स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । आफूहरूले धेरै वडाहरूमा संगठन सुदृढिकरणको अभियान चलाएको बताउँदै केही वडाका केही साथीमा अझै हिजोको तितो बाँकी रहेको देखिएकाले यसमा चिरञ्जिवी हमाल र जिल्ला अध्यक्ष नागेश्वर यादवले चासो लिन अनुरोध गरे ।

स्थानीय निर्वाचनमा दुई चिरामा विभाजित बर्दिवास कांग्रेसलाई यो पार्टी कार्यालय उद्घाटनको वाहानामा एक ठाउँमा उभ्याएको मात्र हैन सार्वजनिकरूपमा कांग्रेस कार्यकर्तालाई साक्षी राखेर एकताको सन्देश प्रवाह हुनु निक्कै सुखद् सन्देश भएको काँग्रेस बर्दिवास नगर अध्यक्ष युवराज पोखरेलले बताए । यो एकताको संदेशले, यो पार्टी कार्यालय उद्घाटनले कांग्रेस कार्यकर्तामा उर्जा भर्ने, उत्साह बढाउने काम गरेको उनको कथन थियो ।

स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख पदमा कांग्रेसको आधिकारिक उम्मेदवार चिरञ्जिवी हमाललाई तोकिएसंगै विद्रोह गरेका प्रह्लादकुमार क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएर प्रमुख, उपप्रमुखलगायत बहुमत वडामा आफ्नो प्यानल जिताएका थिए । सोही समयदेखि लगभग पानी बाराबारजस्तै भएका कांग्रेसलाई यो पार्टी कार्यालय उद्घाटनका नाममा दिइएको एकताको सन्देशले यस भेगको राजनीतिमा दुरगामी महत्व राख्ने बताइएको छ ।

नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्रनं. १ का सभापति महेश झाको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारी थिए भने विशेष अतिथि जिल्ला सभापति नागेश्वर यादव रहेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार