मधेश सरकारमा फेरिदैं समिकरण, मुख्यमन्त्रीमा आलोपालो १/१ वर्षको चर्चा

banner

बर्दिवास, ५ जेठ । मधेश प्रदेश सरकारबाट नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि अब कुन पार्टीको नेतृत्वमा सरकार बन्ने भन्ने चर्चा छ । यहाँ एकअर्काको नेतृत्व स्वीकार गर्न नसक्ने भएकाले सरकार अल्पमतमा परेको आधा महिनावित्न लाग्दासमेत अन्योलको अवस्था छ । तर, सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् ।

राजनीतिक बृतमा चलेको चर्चाअनुसार सरकारको नेतृत्वका विषयमा तीन दलबीच आलोपालोमा सहमति भएको छ । नेतृत्वमा सहमति भए पनि मन्त्रालय भागवण्डा बाँकी रहेकाले मुख्यमन्त्री दावी गर्ने पत्रमा हस्ताक्षर भएको छैन । चर्चामा भनिएको सहमति अनुसार जनमत पार्टी, माओवादी र एमालेले पालैपालो सरकारको नेतृत्व गर्नेछन् । पहिलो १ वर्ष जनमतले र त्यसपछि क्रमशः माओवादी र एमालेले नेतृत्व गर्नेछ ।

मधेसमा नयाँ सरकार बनाउन एमाले, माओवादी, जनमत, नेकपा(एस), लोसपा सहमति भएको बताइएको छ । प्रदेशसभामा एमाले सभामुखसहित २५, माओवादी ९, जनमत १३, लोसपा ८, एकीकृत समाजवादीका ७ सांसद छन् । जम्मा १०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । अहिले चर्चा गरिएको सहमति साँचो ठहरिएमा सरकारका पक्षमा सभामुख बाहेककै ६१ जना सांसद पुग्छन् ।

उता वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव पनि विश्वासको मत लिने बताइरहेका छन् । जसपा नेपाल विभाजनको प्रभावस्वरुप एमाले –माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमत परेका मुख्यमन्त्री यादव कांग्रेस र लोसपाको साथ खोजीरहेका छन् । एकीकृत समाजवादीको समर्थन उसले पाई नै रहेको छ । तर, लोसपा र काँग्रेस दुवैले जसपा नेपालको नेतृत्व नस्वीकार्ने बताइएको छ । कसैले पनि जसपाको नेतृत्व स्वीकार नगर्ने भएपछि ७ वर्षपछि मधेश सरकारबाट जसपा नेपालको बहिर्गमन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार