सहकारी ठगी प्रकरण : संसदीय समिति बनाउन सत्तापक्ष सहमत, कार्यदलको बैठक बस्दै

banner

 काठमाडौं, ६ जेठ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । यद्यपि उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरु टुंगोमा पुगेका छैनन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको हो ।

‘संसदीय छानबिन समिति बनाएर जाने विषयमा समान धारणा छ, समितिको कार्यादेश के हुने भन्ने विषयमा अहिले कार्यदलको वैठक बस्दैछ।

समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक समिति बनाइएको छ । जसलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजक गर्नेछन् ।

उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका कानुनमन्त्री गिरीले जानकारी दिए ।

‘अहिले नै सक्ने गरी काम हुन्छ, उहाँहरुसँग बस्ने सहमति खोज्ने, थप नेताहरुसँग छलफल गर्नुपर्‍यो भने गरेर यसलाई टुंग्याउँछौं’, गिरीले भने ।

सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । तर सरकार र सत्ता गठबन्धनले भने यसलाई अस्वीकार गर्दै आएका थिए ।

२८ वैशाखमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन लगातार अवरोध गर्दै आएको छ । उसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भनेपछि दलहरुबीच संसदको अवरोध खोल्ने बारेमा छलफल सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार