गृहमन्त्री रविका गगन थापा लक्षित यी हुन मुख्य शब्द वाण

banner

काठमाडौं, ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आफूमाथि लागेको आरोपमाथि जवाफ दिने क्रममा कांग्रेस महामन्त्री गगन थापामाथि शब्द वाणको वर्षा गराएका छन् । गगनको नाम नलिइकन उनले घुमाउरो रुपमा शब्द वाणको वर्षा गराएका हुन् ।

यी हुन् ती मुख्य मुख्य वाण :

१५ वर्षदेखि संसदको लास्ट सीटदेखि फ्रन्ट सीटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई हेक्का होस्, यो देश अब तपाईंहरुको गनगनले मात्र चल्दैन । आफैं सरकारमा बसेर यसलाई बाहिर पठाउ, उसलाई बाहिर पठाउ भन्नुको साटो प्रमाण जुटाएर कारबाही गर्ने आँट गरेको भए हुन्थ्यो । अप्रमााणित हल्ला र मिडिया ट्रायललाई बोकेर संसदलाई लेक्चर दिनुभयो काम गर्नुभयो ।

सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् ।

कांग्रेस महामन्त्रीले संसद वैठकमा उपप्रधानमन्त्रीले आफैं निवेदन दिएर ऋण मागेको प्रमाण मसित छ भन्नुभयो । त्यस्तो प्रमाण जहाँबाट भए पनि उपलब्ध गराइदिनुस, म राजनीति छोड्छु भनेको थिएँ । धेरै दिन भइसक्यो मैले प्रमाण पाएको छैन । तर धन्दा नमान्नुस तपाईंले राजनीति छोड्नु पर्दैन । तपाईंजत्तिको नेता यो देशलाई चाहिन्छ । ’

लामिछानेले मिडियाको हल्लासँग रास्वपा नतर्सिने बताए ।

उनले भने, ‘रास्वपा कायरहरुको पार्टी होइन । रवि लामिछाने कायर होइन । मिडिया ट्रायल हामीसँग चल्दैन । मलाई खेल्न र हार्न समस्या छैन । तर खेल फेयर हुनुपर्छ । झूटा मुद्दासँग म डराउँदिन । म भूईंको मान्छे हो, भूईंसम्म निहुरिन सक्छु, तर झुक्न स्वीकार्य छैन ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार