जनकपुर, २३ भदौ । मधेश प्रदेशमा लगातार ६ वर्ष शासन चलाएको जसपा नेपालको सत्ता ढलेको छ । विश्वासको मत प्रयोजनका लागि आज प्रदेशसभामा भएको मतदानमा पक्षमा ५० र विपक्षमा ५३ मत परेसंगै मधेशबाट उपेन्द्र यादवको प्रभूत्व सकिएको हो ।
मुख्यमन्त्री सरोज कुमार यादवले नै विश्वासको मत लिने प्रयोजनका निमित्त आज संसदको बैठक डाक्न संसद सचिवालयलाई आग्रह गरेका थिए । तर, आज आफूले विश्वासको मत नपाउने भएपछि त्यो कार्यसूचि २८ गतेलाई सार्न उनले सभामुख समक्ष पत्र पठाएका थिए ।
सभामुखले ढिलो गरी पत्र पठाएको र संसद कुनै व्यक्ति वा कुनै दलको स्वार्थअनुसार चल्न नसक्नेभन्दै कार्यसूचि सार्न अस्वीकार गरेका थिए । निर्धारित समयभन्दा १ घण्टा ढिला सुरुभएको प्रदेश सभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले राष्ट्रगानपछि बैठक सञ्चालन गर्न नपाउदै नेपाली कांग्रेसमा सांसदले नियमावलीको हावाला दिदैं सरकारको प्रतिनिधिको उपस्थिति विना संसद चल्न नसक्नेभन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि संसदको बैठक स्थगित गरेका थिए ।
मुख्यमन्त्री र मन्त्रीको उपस्थिति नभए पनि आफूले वैठक चलाउने सभामुखको अडानपछि मुख्यमन्त्री र मन्त्री संसदमा उपस्थित भएका थिए । जसपा नेपाल विभाजन भएकाले सरकारको नेतृत्व गरेको दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था सभामुखले स्मरण गराएकाले मुख्यमन्त्री विश्वासको मतको सामना गर्न बाध्य भएका थिए । उनी भने पार्टी विभाजनको विषय अदालतमा विचाराधिन रहेको, संघीय संसद सदस्य विभाजित भए पनि प्रदेशमा विभाजनको असर नभएकाले विभाजनका कारणले विश्वासको मत लिइरहनु नपर्ने तर्क गरिरहेका थिए ।
आफूलाई समर्थन गरेका र सत्ता साझेदार दलले समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनु पर्ने बताउँदै मुख्यमन्त्री यादव त्यसका लागि अझै पाँच दिन समय रहेकाले आजको कार्यसूचिबाट हटाइदिन अनुरोध गरेको भन्ने उनको तर्क थियो । तर, सभामुखले अडान नछाडेपछि उनी विश्वासको मत लिन वाध्य भएका थिए । उनलाई काँग्रेस २२, जसपा नेपाल १९ र लोसपाका ८ सांसदले मत दिएका थिए । १०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक हुन्छ । यद्यपी आज १०३ सांसदको मात्र उपस्थिति थियो ।