बर्दिवास, २४ जेठ । मधेश सरकार गठनमा मन्त्रालय भागवण्डामा अड्कोमाथि अड्को थपिएकाले आज सरकार गठनका लागि दावी पेश हुन सकेन । खासगरी नेकपा(एस)ले एकपछि अर्को अड्को थाप्दा सहमति हुन नसकेको श्रोतले बताएको छ ।
संख्याको भागवण्डा लगभग मिलिसक्यो अब कसले कुन मन्त्रालय सम्हाल्ने विषयमा सहमति हुन नसकेको मधेश प्रदेश माओवादी संसदीय दलका नेता भरत साहले बताए । उनले आजै भागवण्डा टुंग्याएर भोली प्रदेश प्रमुखको कार्यालयले दिएको समयभित्रै दावी पेश गर्ने बताए । ‘भोली नै मुख्यमन्त्री र मन्त्रीहरूको सपथ ग्रहण हुनेछ’ उनले भने ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार १० वजेसम्मका लागि दावी पेश गर्न समय सीमा तोकेको छ । मन्त्रालय भागबण्डामा जनमत पार्टी मुख्यमन्त्रीसहित २, एमाले ४, माओवादी र नेकपा(एस) २ २ मा सहमत भएको बताइएको छ । तर, नेकपा (एस)ले रोजेको मन्त्रालय पाउनु पर्ने अडान नछाडेकाले सहमति हुन नसकेको बताइएको छ ।
नेकपा(एस)ले अर्थ मन्त्रालयमा जोडबल गरेको छ सो मन्त्रालयमा माओवादीको पहिल्यैदेखिको दावी रहेको छ । यसअघि पनि माओवादीलाई अर्थ मन्त्रालय दिने सहमति गरेर मुख्यमन्त्री यादव पछि हटेकाले मन्त्रीको सथ ग्रहण गरे पनि भरत साहले मन्त्रालय सम्हालेनन् । नेकपा(एस) अर्थ नपाए भौतिक पूर्वाधार विकास मन्त्रालय पाउनु पर्ने बताउँछ । भौतिक पूर्वाधार मन्त्रालय यसअघि पनि एमालेको भागमा परेको मन्त्रालय हो ।
गठबन्धनमा रहेका सबै दलको सम्मान जनक अवस्था होस् । कसैले हेपीएको सहशुस नगरुन भन्ने पक्षमा आफूहरू रहेको एमाले संसदीय दलका नेता सरोज यादवले बताए । एमाले संसदीय दलको कार्यालयमा दिनभरी चार दलको छलफल भए पनि नटुंगीएको उनले बताए । रातभर िबसेर जसरी पनि टुंग्याउने प्रयास भइरहेको नेता यादवले जानकारी दिए ।