बर्दिवास प्रहरीले प्रदर्शन गरेको त्यो उत्कृष्ट दक्षता . . .

banner

बर्दिवास, २७ भदौ । गत सोमबार (२५ गते भदौ) कालापानीका एक वृद्धलाई लुटपाट गर्ने तीन डाँका जिल्ला अदालत महोत्तरीको आदेशले पुर्पक्षका लागि जेल चलान भएका छन् । न किटानी जाहेरी, न त प्रष्ट हुलिया तैपनि १२ घण्टाभित्रै डाका पक्राउ गर्न सफल भएपछि अहिले इलाका प्रहरी कार्यालय बर्दिवासले स्थानीयको मन जितेको छ ।

बर्दिवास –३ कालापानीबाट बर्दिवास –१ चोकमा आउने क्रममा कालापानीका एक वृद्धको पैसा लुटियो । भिर्नेझोलामा पैसा बोकेर बर्दिवास चोक आउन बस चढेका उनी बाटैमा झोला हलुंगो महसुश भएपछि गौरीडाडामै ओर्लीए । तै पनि उनले प्रहरीमा खबर गरेनन् । स्थानीयलाई आफ्नो पैसा बसमै लुटिएको सुनाउनतिर लागे ।

गाइँगुईँ कुरा सुनेपछि प्रहरीले पीडित वृद्धलाई भेट्यो । तर उनले कसले लुट्यो ? कोसंग शंका छ भन्ने एकिन भन्न सकेनन् । वृद्धको आँखाको आँसु पुछ्न प्रहरीले आफ्नो संपूर्ण दक्षता र क्षमताको प्रयोग गर्यो । फलत ः बिहान लगभग साढे १० वजेको घटनामा राति १० वजे प्रहरीले सफलता हासिल गर्यो । तीन लुटेका प्रहरीको नियन्त्रणमा आए । अनुसन्धानमा कतै कसुर नछोडेपछि आखिर ती डाँका जेल चलान भए ।

घटना गत साउन २८ गतेको हो । कालापानीका एक वृद्ध नातीलाई पढाई खर्च हालिदिन भिर्ने झोलामा ४ लाख ७० हजार रुपैयाँ बोकेर बर्दिवास आउँदा बाटैमा लुटिएका थिए । बसभरी ठेलाठेल यात्री थिए । पैसा यसैले लुट्यो भन्न कठिन थियो । बसभित्र न सिसी टिभी थियो न कोही चोरेको देख्ने प्रतक्ष्यदर्शी ।

‘घटना भएको १२ घण्टाभित्रै यस्तो जटिल घटनामा सफलता हासिल गर्यौं । हाम्रो पहुँचमा रहेका र जानेका प्रविधिको उच्चतम प्रयोगले यो सफलता प्राप्त भयो’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ‘यो कठिन कार्य थियो । हुलिया प्रष्ट थिएन, अनुसन्धान कसरी सुरु गर्ने भन्ने नै अन्योल हुने परिस्थिति थियो ।’

अपराध अनुसन्धानमा प्राप्त अनुभवका आधारमा एकटा निशाना ताक्दा, सो निशाना ठिक ठाउँमा लागेकाले सफलता प्राप्त भएको डिएसपी पोखरेलले बताए । गाउँको एउटा मध्यम वर्गिय परिवारले त्यतिका रकम जुटाउनु चानचुने कुरा नभएको बताउँदै पोखरेलले भने ‘पैसा लुटीएपछिको वृद्धको मलिन अनुहार र एक किसिमको बेहोसीको अवस्थाले हाम्रो अन्तरआत्मालाई छिचोल्योे ।’

यो घटनामात्र होइन त्यसपछिका चोरीका घटनामा पनि बर्दिवास प्रहरीले एकपछि अर्को आश्चार्यजनक दक्षता देखाएको स्थानीय अनुराग ठाकुर बताउँछन् । उनले भने ‘अस्ती एउटा सुन पसलमा चोरी भएको प्रहरीले थाहा पाएको तीन घण्टामै चोर पक्राउ पर्यो ।’ घटना थाहा पाएको तीन घण्टामै चोर समातेर उभ्याई दिंदा प्रहरीको काम देखेर सबै आश्चार्यमा परेको अनुराग बताउँछन् ।

यतिहुँदाहुँदै लागु औषधले अक्रान्त बर्दिवासमा त्यसका कारोवारी र सेवनकर्ताप्रति प्रहरीले उदारता देखाउने गरेको आरोप भने लाग्ने गरेको छ । तर, डिएसपी पोखरेल भने लागुऔषध नियन्त्रणमा पनि आफूहरू अब्बल रहेको बताउँछन् । डिएसपी पोखरेल भन्छन् ‘हाम्रो थुनुवा कोठामा अहिले पनि सबैभन्दा धेरै लागुऔषधकै मुद्दाका थुनुवा छन् ।’ तर, नाम नलेख्ने शर्तमा स्थानीय भन्छन् ‘रात्रिकालिन समयमा प्रहरीले सेटिङ्गमै लागुऔषध पास गराउँछन् । डिउटीमा रहेका प्रहरीले शंकास्पद गाडी रोक्छन् र देखादेखी लेनदेनमा छाडिदिन्छन् ।’

जसरी चोर, डाँका, सवारी दुर्घटनाका घटनामा होस् वा झैंझगडाका घटनामा बर्दिवास प्रहरीले इमान्दारिता र कार्यकुशलता देखाइरहेको छ त्यसरीनै लागु औषधमा पनि देखाए पक्कै कमी आउने स्थानीय बताउँछन् । ‘काम त गरेको छ, आश्चार्यजनक काम पनि गरेको तर, लागु औषधमा पनि त्यत्तिकै निर्मम भइदिए हृदयदेखिनै वाहवाही गर्न मन लाग्थ्यो’ एक स्थानीयले नेपाल टकलाई भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार