धार्मिक सद्भावको पर्व मोहर्रम मनाईँदै

banner

बर्दिवास ,३१ भदौ । मोहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ ।

मुहर्रमको बढी महत्वपूर्ण दिन ‘आशूरा’ हो, जो मुहर्रमको दशौँ दिन पर्दछ । विभिन्न मुस्लिम समुदायका लागि यसको धार्मिक महत्व अलग–अलग हुनसक्छ । अधिकांश मुस्लिम समुदाय आशूरालाई अत्यन्त महत्वका साथ मान्ने भएकाले यसलाई विशेषरूपमा मनाउने गरेका छन् ।
भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने जनविश्वास छ । साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख, शान्तिका साथै बिग्रेको कामसमेत बन्ने गरेको महोत्तरीका सामाजिक अभियान्ता रामदयाल ठाकुरले बताए ।

‘हिन्दूहरू समेतले मनाउने भएकाले पछिल्लो समयमा मुहर्रमको रौनकता बढ्दै गएको छ । यो पर्व मान्नेहरूले ताजिया बनाइ ढोल, मजिरा, तासा बजाउँदै झर्रा आदि गीत गाउने चलन छ ।’ जलेश्वरका सामाजिक अभियन्ता नइम अन्सारीले बताए ।

आशूराका दिन ताजिया यात्रा गर्दै मुहर्रमका सहिदहरूको यादमा मातम मनाइन्छ र शहिदहरूलाई श्रद्धाञ्जलि दिइन्छ । यसको अतिरिक्त, सामाजिक तथा धार्मिक कार्यक्रम आयोजित हुन्छ । हिन्दूहरूले पनि यो पर्वलाई निराहार व्रत बसी शोक समारोहका साथ, ताजिया यात्रा गर्दै मनाउने गरेका छन् ।

इस्लामिक क्यालेन्डरअनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’का साथै ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्षको यो महिना पैगम्बर महोमदको नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा हिन्दू र मुस्लिम समुदाय एकसाथ मनाउने गरेका छन् ।

सन् २०२४ मा मुहर्रम ६ सेप्टेम्बरबाट सुरू भएको छ, त्यसैले यो वर्ष १६ सेप्टेम्बरमा (आज) मुहर्रम मनाइँदैछ । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइँमा सहादत प्राप्त गरेका थिए ।

मुहर्रम महिनाको पहिलो दश दिन इमाम हुसेनको शोकका रूपमा मनाइन्छ । यसलाई आशूरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशौँ दिन कर्बलाको मैदानमा सहिद भएकाले उनैको सहादत र बलिदानीका लागि यो दिनलाई विशेषरूपमा सम्झिने गरिएको छ ।

‘हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरुद्धको लडाइँमा उनको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद भएका थिए । उनी समानता, न्याय र दयालुताको लागि लड्ने गर्थे’, मुस्लिम अगुवा मोबिन हल्वाईले बताए ।

तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उनीहरुकै मुक्तिका लागि यमाम हुसैनले सहिद हुनु परेको बताइन्छ । अब्दुल्ला अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।

को थिए हजरत इमाम हुसैन ?
हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति थिए । इमाम हुसैनका वालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो, उनी पैगम्बर साहबको ज्वाइँ थिए । त्यसैगरी इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो ।

हजरत अली धार्मिक तथा सामाजिक मुखिया थिए । उनलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको सहादतपछि मानिसहरू इमाम हसन (हुसैनका दाजु)लाई खलिफा बनाउने पक्षमा थिए, तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा भए ।

‘६० हिजरीमा तत्कालीन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहे । उनी सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहन्थे । त्यसैले इन्सानियत बचाउन याजिदको विरोधका इमाम हुसैनले कर्बलाको लडाइँमा सहिद भए’, सामाजिक अभियन्ता अन्सारीले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार