लोसपा मधेश प्रदेशमा भाँडभैलो

banner

बर्दिवास, १ असोज । मधेश केन्द्रीत दलको रूपमा चिनिने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशमा भाँडभैलो मच्चिएको छ । पार्टीनै विभाजित भएजस्तो गरी मच्चीएको भांडभैलोको कारण अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशका सभामुखलाई गरेको अवैधानिक र हास्यास्पद् पत्रचार रहेको बताइएको छ ।

लोसपा नेपाल मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल चुनिएका छन् । तर, अध्यक्ष ठाकुरले ज्यान मुद्दामा जन्मकैदको फैसला भई प्रदेशसभाबाट स्वतः निलम्बनमा परेका अभिराम शर्मानै दलको नेता रहेको पत्र सभामुखलाई पठाएका छन् ।

८ जना सभासद रहेको लोसपा संसदीय दलमा ५ जनाले सोनललाई समर्थन जनाएका छन् । दलको बहुमत सदस्यले नेता चयन गरेपछि मधेश प्रदेश सभाले उनलाई नेताको मान्यता दिएको छ । तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले सोनललाई स्पष्टीकरण सोधेका छन् । दलको बैठक पार्टीको निर्देशन विपरीत गरेकोले ३ दिन भित्र जवाफ पेश गर्न सोनललाइ ठाकुरले निर्देशन दिएका छन् ।

यसअघि ज्यान मुद्दामा दोषी ठहर भई फरार सूचीमा रहेका शर्मालाई दलको नेता रहिरहेको भन्ने व्यवहोराको अवैधानिक र हास्यास्पद पत्र प्रदेशसभामा पठाएका थिए । ठाकुरको सो पत्र अहिले प्रदेशमै हास्यास्पद बनेको बताइएको छ ।

जयनुल राइनको अध्यक्षतामा भएको संसदीय दलको बैठकमा सोनल, रमिता प्रधान र रमेश पटेल उपस्थित रहेका थिए । लोसपाबाट मन्त्री बनेकी रानी शर्मा, उपेन्द्र महतो र रुपा यादव अनुपस्थित थिए । तर लोसपा नेपालका महासचिव परमेश्वर साहले प्रदेशसभाबाट नै नेता शर्मालाई कानुनी रुपमै हटाएपछि रिक्त पदमा नेता चयन गरिएको स्पष्ट पारे ।

अध्यक्ष ठाकुरले कुनै व्यक्तिको उक्साहटमा सो विज्ञप्ति जारी गरेको आरोप लगाउँदै महासचिव साहले कानुनी रुपमै प्रदेशसभा सचिवालयले हटाएको ठाउँलाई रिक्त राख्नु नहुने भएकाले सो रिक्त पदपुर्ति गरिएको बताए । तर लोसपा नेपालकी नेतृ रानी शर्मा तिवारीले मनपर्दी रूपमा विना कुनै जानकारी संसदीय दलको नेता बन्नु गलत रहेको बताइन् ।

कुर्सीकै लागि मरिहत्ते गरेको आरोप प्रदेशसभा सदस्य जितेन्द्र सोनलमाथि लगाउँदै उनले पार्टीले उनलाई स्पष्टीकरण सोधेको समेत बताइन् । बारा निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सोनल लोसपाका मधेश प्रदेश अध्यक्ष पनि हुन्् । लामो समयदेखि खाली रहेको लोसपाको मधेश प्रदेश संसदीय दलको नेता सोनल नै रहेको महासचिव साहले दाबी गरे ।

दलको नेतालाइ राज्यमन्त्री सरहको सुविधा दिने गरिएको छ । सोनललाई अध्यक्ष ठाकुरले स्पष्टीकरण सोधेपनि मन्त्री समेत रहेका वरिष्ठ नेता शरतसिंह भण्डारीले समर्थन गरेका छन् । मधेश प्रदेशमा राइन र प्रधान भण्डारीका निकट छन् । लोसपाले महाधिवेशन गर्ने घोषणा गरेको बेला मधेश प्रदेशमा नै विवाद चुलिएको छ । यो घटनाले लोसपाभित्र चलेको मनमोटावलाई सार्वजनिकीकरण मात्र गरेको बताउँने राजनीति विश्लेषकहरू विगतमा धेरै पटक फुटदै जोडिदैं आएको लोसपा अब एक रहन नसक्ने दावी गर्छन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार