कसले डुवायो साझा संस्था ? खोजी गर्दै पोखरेल नेतृत्वको सञ्चालक समिति

banner

बर्दिवास, १० मंसिर । श्री किसान बहुमुखी सहकारी संस्था बर्दिवासको अर्वौ पर्ने जमिन कृषिविकास बैंकले अनाधिकृत कब्जा गरेको पाइएको छ । साझा संस्थाको अहिलेको भानुभक्त पोखरेल नेतृत्वको समितिले खोजी गर्दा कृषि विकास बैंकले जालझेल गरेर १० कट्ठा जमिन कब्जा गरेको पाइएको हो ।

कृषि विकास बैंकले अनाधिकृत ढंगले जालझेल गरेर जमिन आफ्नो नाममा पारेको देखिएपछि फिर्ता गराउन पहल थालिएको बर्दिवास साझा सहकारी संस्था बर्दिवासका अध्यक्ष भानुभक्त पोखरेलले बताएका छन् । कृषि विकास बैंकले २५ लाख ७० हजार ऋणवापत १० कट्ठा जमिन हड्पेको अभिलेखबाट देखिएको उनी बताउँछन् । अहिले सो जमिन फिर्ता गराउन पहल थाल्ने मुद्दा दिनु परे पनि आफूहरूसंग बलियो प्रमाण भएको उनको कथन छ ।

‘अहिले हामिले सो जमिन फिर्ता गराउन सकिन्छ भन्ने निष्कर्ष निकालेका छौं । समितिका साथीहरू एकजुट हुनुहुन्छ’ पोखरेलले भने ‘फिर्ता गराउन जे जे आवश्यक पर्छ सो गर्ने भन्ने समितिको सर्वसम्मत निर्णय भएको छ ।’ कृषि विकास बैंकले २० असोज २०६३ सम्ममा १४ लाख २५ हजार ३६१ साँवा ऋण साझा संस्थामाथि देखाएको छ भने सो अवधिसम्मको ब्याज भनेर ४६ लाख ६१ हजार ९९१ रुपैयाँ देखाएको रेकर्डमा देखिन्छ । यस हिसावले साँवा र ब्याज गरेर कूल रकम ६० लाख ८७ हजार ३५२ हुन आउँछ ।

तर, कृषि विकास बैंकले सो रकममा ३४ लाख ९६ हजार ४५३ घटाएर बाँकी मूल्यमा १० कट्ठा जमिन तत्कालिन सञ्चालक समितिसंग पास गराएको देखिन्छ । सो घटाएको रकम कसरी हो, किन घटाइयो, कति प्रतिशतले घटाएको, साँवामा घटाएको कि ब्याजमा घटाएको भन्ने कतै उल्लेख पाइदैन । सो रकम ऋण लिएको कहिले हो यो ब्याज कति वर्षको यत्तिको रकम भएको हो भन्ने कतै रेकर्ड नदेखिएको अध्यक्ष पोखरेल बताउँछन् ।
संस्थाको २०६२ जेठ २५ गते बसेको अध्यक्षता बिनाको बैठकले ७ कट्ठा जमिन ऋणवापत कृषि विकास बैंकलाई दिने निर्णय भएको अभिलेख साझामा रहेको छ । तर १० कट्ठा कसले कहिले निर्णय गरे भन्ने साझामा कुनै अभिलेख छैन । कृषि विकास बैंकसंग साझाको ऋण फर–फारक गर्न अध्यक्ष मिनबहादुर हमाललाई अख्तियारी दिएको भन्ने उल्लेख छ, तर उनले बैठकले ७ कट्ठा दिने निर्णय भएकामा १० कट्ठा कसरी पास गरिदिए भन्ने कतै निर्णय गराएको नदेखिएको संस्थाका अहिलेका सचिव निर्मल तिमलसेना बताउँछन् ।

कषि विकास बैंकले साझा संस्थाको अर्बौको सम्पत्ति जालझेल गरेर कौडीको मूल्यमा आफ्नो नाममा पास गराएको मात्र होइन संस्थाको बाँकी रहेको १२ कट्ठा जमिन पनि क्षतविक्षत बनाएको छ । साझाको बाँकी रहेको १२ कट्ठा जमिनमा जग्गाको आकार–प्रकार नहेरी बाटो खोले तीन कित्तामा विभाजित गरी काम नलाग्ने बनाएको समितिले बताएको छ ।

विपी राजमार्ग खुल्नुअघि यो संस्था सिन्धुली, रामेछाप र दोलखाका जनताका लागि चामल र नुन आपुर्ती गर्ने मुख्य थलो थियो । निक्षेप कारोवारसहितको बैकिङ्ग सेवा दिएको थियो । यस क्षेत्रका वासिन्दालाई मलखाद पाउने एक मात्र थलो थियो किसान सहकारी संस्था बर्दिवास । तत्कालिन अवस्थाको त्यस्तो हराभरा सधैं किसान र पहाडका नुन र चामल बोक्न आउने भरियाको भीड लाग्ने संस्था केही समयअघिसम्म लगभग टाट पल्टेको अवस्थामा थियो ।

अहिले दुई वर्षदेखि संस्था फेरि चलमलाउन थालेको छ । नयाँ सटरहरू बनाएर व्यवसायिक प्रयोजनका निमित्त भाडामा दिएर केही आर्थिक उपार्जन पनि गर्न थालेको छ ।

कृषि विकास बैंकको जालझेलबाट मुक्त गरी जमिन फिर्ता गराउन सके पूर्वपश्चिम राजमार्गको मुखमा रहेको यो संस्था २२ कट्ठाको मालिक हुनेछ । जुन जमिन यसक्षेत्रको किसानको रगत, ससिनाले सिंचित छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार