लालगढ नमुना विद्या सदनका छात्रछात्रामा देखियो यस्तो समस्या

शुभस्वस्तिकको ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ जारी, इ–सेवा पनि मिसियो
banner

बर्दिवास ६ पुस । शुभस्वस्तिक हस्पिटल बर्दिवासले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुरु गरेको ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ जारी राख्दै गर्दा यसमा इ–सेवा एप पनि मिसिएको छ । शुभस्वस्तिक हस्पिटलको प्राविधिक सहयोग र ई–सेवाको व्यवस्थापकीय सहयोगमा गत शुक्रबार लालगढ नमुना विद्या सदनका ४०१ छात्रछात्राको आँखा र दाँतको जाँच गरिएको छ ।

जाँचमा संलग्न ४०१ छात्रछात्रा मध्ये ५० जना छात्रछात्रामा आँखा कम देख्ने समस्या र ३५ छात्रछात्रामा दाँतमा विभिन्न समस्या रहेको चिकित्सकहरूले बताएका छन् । जाँचमा आँखातर्फ डा. सन्तोष यादव र दाँततर्फ डा. अनिल यादवको सहभागिता थियो ।

बालबालिकामा आँखा कम देख्ने समस्या रहेको लामो समय भइसक्दा पनि शिक्षक वा अभिभावकलाई थाहा नहुने गरेको पाइएको जाँचमा सहभागि डा. सन्तोष यादवले बताए । ‘४०० जना बालबालिकोे आँखा सामान्य जाँच गर्दा ५० जनामा समस्या देखिनु ठूलो समस्या हो’ जाँचपछि डा. सन्तोष यादवले भने ‘कतिपय त शिक्षकले बोर्डमा लेखेको अंक वा अक्षर नदेख्ने गरेको पाइयो ।’ डा. यादवकाअनुसार समयमै उपचार गरे ठिक हुँदै जान्छ बालबालिकाको आँखा । अहिले चस्मा लगाएर दिनको केही समय आँखाको ब्यायाम गरे पछि चस्मा नलगाउनु पर्ने पनि हुन्छ । ‘दिइएको पुर्जी लिएर हस्पिटलमा आए हामी ब्यायाम पनि सिकाउछौं र उपचारसमेत स्तो छ’ उनले भने ।

शुभस्वस्तिक हस्पिटलले चलाएको ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ मा सहभागि विद्यार्थीलाई उपचारमा हस्पिटलले विशेष छुटको व्यवस्था गरेको बताइएको छ । ‘विद्यालयमा सामान्य जाँचमा आँखा र दाँतमा समस्या देखिए, त्यस्ता विद्यार्थीलाई पुर्जी दिइन्छ, सो पुर्जी अस्पतालमा लिएर उपचारमा गए त्यस्तो छुट पाइने हस्पिटलले जनाएको छ । चस्मामा ५० प्रतिशतसम्म र अन्य जाँचमा पनि १० देखि ४० प्रतिशतसम्म छुट दिने गरिएको चिकित्सक बताउछन् ।

शुभस्वस्तिकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठ सकिए लगत्तै ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु गरेको हो । यसअघि बर्दिवासस्थित सप्तमर्णिका, मोडर्न गुरुकुल, स्वर्णिम पाठशालामा यस्तो शिविर चलाइएको थियो । हरेक साताको शुक्रबार बर्दिवास क्षेत्रका एक विद्यालयमा यस्तो स्वास्थ्य कार्यक्रम चलाउने हस्पिटलको योजना रहेको छ । कुनै पनि विद्यालयले शुभस्वस्तिक हस्पिटलसंग समन्यय गरी आफ्ना विद्यालयका बालबालिकाको विशेषज्ञ चिकित्सकद्वारा आँखा र दाँतको परीक्षण गर्न सकिने हस्पिटलले जनाएको छ ।

यसै विषयलाई हृदयंगम गरी ई–सेवाले पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाको आँखा र दाँत, मुख स्वास्थ्यमा चासो राख्दै सहभागिता जनाएको ई–सेवा जनकपुरका प्रमुख देव श्रेष्ठले बताए । लालगढ नमुना विद्या सदनको स्वास्थ्य शिविरमा ई–सेवाले व्यस्थापकीय सहयोग गर्दै सहभागिता जनाएको हो । ‘आजका बालबालिका भोलीका देशका कर्णधार हुन्, उनीहरूको स्वास्थ्य हामी सबैको सरोकार हो’ ई–सेवाका प्रमुख श्रेष्ठले भने ।

कार्यक्रमपछि सो स्वास्थ्य शिविरमा सहभागि हस्पिटलका चिकित्सक र सहकर्मीलाई विद्यालय र ई–सेवाकातर्फबाट मायाको चिनोसहित धन्यवाद दिइएको थियो । सो संक्षिप्त समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नविन श्रेष्ठले लालगढजस्तो अहिले छाँयामा परेको विद्यालयलाई पनि सम्झिएकामा हस्पिटल र ई–सेवालाई धन्यवाद दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार